धनगढी। कैलालीको धनगढीमा छिमेकीको घरमा बेहोस भेटिएका एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगर बुद्धमार्गमा छिमेकी महेश श्रेष्ठको घरमा बेहोस भेटिएका ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बिहीबार राति श्रेष्ठको घरमा बेहोस भेटिएका चौधरीलाई अस्पताल पुर्याइएको थियो ।
'अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन्,' डीएसपी तिमिल्सिनाले भने । घटनाको अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको डीएसपी तिमिल्सिनाले बताए ।
यता चौधरीका आफन्तले भने पतिरामको हत्या गरिएको आरोप लगाएका छन् । २ गते चौधरीले पालेको कुकुरले छिमेकी श्रेष्ठको कुकुरलाई टोकेको थियो ।
उक्त कुकुर मरेपछि बिहीबार राति श्रेष्ठले चौधरीलाई घरमै बोलाएका थिए । श्रेष्ठले ‘खुनको बदला खुन’ लिने धम्की दिएको र पतिरामको हत्या गरेको आरोप आफन्तको छ ।