घटनामा बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा पनि घाइते भएका छन्। घटनामा ज्यान गुमाउने बित्थडचिर ठेगाना भएका व्यक्ति एउटै गाउँका आफन्त र बाँकी इष्टमित्र रहेको बुझिएको छ। यस्तै, सोही दुर्घटनामा ज्यान गुमाउने १४ वर्षीय किशोर सुशील जोशी बेहुलीका भाइ हुन्।
विज्ञापन

दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारको क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशी रहेका छन्।
घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा दुई जना तथा डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा थप ५ जनाको ज्यान गएको बैतडी प्रहरी प्रवक्ता भानदेव बडूले बताए। उनका अनुसार पाँच जना गम्भीर घाइतेलाई डडेल्धुराबाट धनगढी रिफर गरिएको छ भने, २५ जनाको डडेल्धुरामा उपचार भइरहेको छ। यस्तै चार जनाको बझाङको देउलेक स्वास्थ्य केन्द्र बस चालकको बैतडीको पाटनमा उपचार भइरहेको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट नेपाल प्रहरीको टोली खटिएको थियो भने पाटनबाट सशस्त्र प्रहरी बलका डीएसपी शंकर धामीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दाहरूले पनि उद्धार कार्यमा सहयोग गरेका थिए। बेहुली लिएर बझाङ फर्किने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो। उकालो घुम्तीमा ओभरलोडका कारण बस खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जन्तीको बस दुर्घटना हुँदा बैतडीको पुर्चौडी नगरपालिका र बझाङको बित्थडचिर गाउँपालिका शोकमा डुबेको छ।