बालविवाह र महिनावारी विभेद रोक्न अभिभावक शिक्षा आवश्यक

khaptadpress.com

अछाम । बालविवाहको अतिनै जोखिममा रहेको अछामको चौरपाटी गाउँपालिकामा बालविवाह रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन भएको छ ।

चौरपाटी गाउँपालिकाले बालविवाहको जोखिममा रहेका बालबालिकाहरुलाई लक्ष्ति गरी सचेतना अभियान सञ्चालन गरेको हो । गाउँपालिकाले बालविवाहको अतिनै जोखिममा रहेका पालिका भित्र रहेका विद्यार्थीलाई लक्ष्ति गरी बालविवाह र प्रजनन् स्वास्थ्य विषयमा सचेतना अभियान चलाएको छ ।

असार पहिलोसाताबाट सुरु भएको अभियान पालिकामा रहेका सबै आठ वटै माविमा सञ्चालन गरिएको छ । मंगलासैनी मिडिया प्रा.लि.ले सहजिकरण गरेको सचेतना अभियानमा करिव आठ सय जना विद्यार्थीलाई बालविवाहको कानुनी प्रावधान, बालविवाहको अवस्था तथा बालविवाहले प्रजनन् स्वास्थ्यमा पार्ने असरका बारेमा जानकारी गराइएको थियो । साथै सो अवसरमा विद्यार्थीलाई मर्यादित महिनावारीका विषयमासमेत प्रशिक्षण दिइएको थियो। वडा नम्बर १ को सिउँडी माविबाट सुरु भएको अभियान वडा नम्बर ४ पायलको बैद्यनाथ माविमा समापन गरिएको थियो। 


सचेतना अभियानको उद्घाटन गर्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले सन् २०३० भित्र देशलाई नै बालविवाह मुक्त बनाउने सरकारको लक्ष्यअनुसार पालिकाले अभियान सञ्चालन गरेको बताए। बालविवाह गर्दा एउटा पनि फाइदा नभएर सबै बेफाइदा नै भएकाले बालविवाह आफुले पनि नगर्न र अरुलाई पनि गर्न हुन्न भनेर सल्लाह दिन उनले विद्यार्थीलाई सुझाव दिए। 


मंगलासैनी मिडिया प्रा.लि.का सञ्चालक शिवराज खत्री तथा नेपाल पत्रकार महासंघ अछाम शाखाका कोषाध्यक्ष तारामान खड्काले कक्षा सहजिकरण गरेका थिए । सो अवसरमा विद्यार्थी तथा शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरुले विद्यार्थीसँगै अभिभावकहरुलाईसमेत बालविवाह, मर्यादित महिनावारीका विषयमा सचेतना कक्षा चलाउन आवश्यक रहेको सुझाव दिएका थिए।


सिउँडी मावि र वैद्यनाथ माविसँगै शिरोमणी लेखनाथ मावि, दशपल्लेपानी मावि सोकट, गगुणा मावि गगुणा, देवीमाण्डौं मावि दुनी, शान्ति मावि मार्कु र दयापिपलतोला मावि लुङ्ग्रामा सचेतना कक्षा सञ्चालन गरिएको थियो। 



प्रतिक्रिया