काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन भएका छन्।
त्यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई दलको नेता चयन गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
त्यसपश्चात बसेको दलको बैठकले उनलाई दलको नेता चयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बालेन दलको नेता चयन भएसँगै धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री बन्ने बाटो पनि खुलेको छ । उनले भोलि प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा केन्द्रीय समिति तथा संसदीय दलको नेताको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिद्वारा प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ‚’ झाले भने ।
शपथलगत्तै तारेख
सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारेख लिएका हुन् ।