काठमाडाैं।आयोजक राष्ट्र मलेसियाविरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले जीत हासिल गरेको छ । नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।
नेपाली टोलीको जीतसँगै पाँच खेलको शृंखला २/२ को बराबरीमा पुगेको छ । पहिलो खेलमा मलेसिया तीन रनले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो
शृंखलाको तेस्रो खेलमा मलेसियाले नेपाललाई १३ रनले पराजित गरेको थियो । शृंखलाको पाँचौं तथा अन्तिम खेल बुधबार हुनेछ ।
चौथो खेलमा टस जिरेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रनको योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १७.३ ओभरमा केवल चार विकेट गुमाएर एक सय १५ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
नेपालको जीतमा कप्तान इन्दु वर्माले अविजित ४८ रनको योगदान गरिन् । उनले केवल ३९ बलको सामना गरी ६ वटा चौका पनि प्रहार गरिन् ।
रुविना क्षेत्रीले पनि टोलीका लागि अविजित २३ रनको योगदान गरिन् । उनले २३ बलमा एक छक्का र दुई चौका प्रहार गरिन् । कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाइन् ।
त्यसअघि, माथिल्लो क्रममा तीनवटै ब्याटरलाई सस्तैमा गुमाएको मलेसियाका लागि चौथो नम्बरमा क्रिज समाल्न आएकी मस एलिसाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् ।
एलिसाले अविजित ५६ रन बनाइन् । यस क्रममा उनले ६३ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । माहिरा इजाती इस्माइलले टोलीको खातामा १८ रन थपिन् ।
नुर दानिया सुहादाले पनि १५ रन बटुलिन् । मलेसियाका दुवै ओपनर ब्याटर खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । मलेसियाले अतिरिक्त रूपमा पनि १७ रन पायो ।
नेपाली टोलीका बलर कविता कुँवरले तीन विकेट हात पारिन् । उनले चार ओभरमा केवल १० रन खर्चिएकी थिइन् ।
पूजा महतो र कविता जोशीले पनि एक/एक विकेट हात पारेका थिए ।