काठमाडाैं। नेपाली टोली समूह विजेता बन्दै ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुगेको छ । समूह ‘बी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा शुक्रबार नेपालले जापानलाई पाँच विकेटले हरायो ।
नेपाली टोली समूह चरणबाट दुई अंक लिएर ‘सुपर–६’ चरणमा पुगेको हो । ‘सुपर–६’ चरणमा यो दुई अंक नेपालका लागि महत्त्वपूर्ण बन्नेछ ।
नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । शुक्रबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो । नेपालको जीतमा ओपनर कुशल भुर्तेलले २१ रनको योगदान गरे । पहिलो विकेटका रूपमा पेभेलियन फर्किनुअघि उनले २१ बलमा तीन चौका पनि हिर्काए ।
अर्का ओपनर आसिफ शेखले पनि टोलीको जीतमा महत्त्वपूर्ण ३८ रनको योगदान गरे । दोस्रो विकेटका रूपमा पेभेलियन फर्किनुअघि आसिफले केवल २१ बलमा चार छक्का र एक चौका प्रहार गरेका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेलले १९ बलमा एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भए । चौथो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले पाँच रन बनाए ।
कुशल मल्ल पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । त्यसपछि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले टोलीलाई जीतसम्म डोर्याएका थिए । गुलसन फेरि एकपटक टोलीको जीतमा निर्णायक बने । उनले अविजित २८ रन बनाए । उनले २० बलमा दुई छक्का र एक चौका हिर्काए ।
दीपेन्द्रले पनि गुलसनलाई गतिलो साथ दिए । उनले अविजित १४ रन बनाए । यस क्रममा उनले १४ बलमा एक चौका प्रहार गरे । नेपालले अतिरिक्त रुपमा चार रन पायो ।
त्यसअघि, ११ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको जापानका लागि ओपनर केन्दल कादोवाकी फ्लेमिङ र तेस्रो नम्बरका ब्याट्सम्यान एसम रहमानले ८६ रनको साझेदारी गरेका थिए ।
यही उत्कृष्ट साझेदारीले जापानको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्याएको थियो । कप्तानसमेत रहेका फ्लेमिङले टोलीका लागि ६० रनको योगदान गरे । उनले केवल ४६ बलमा तीन छक्का र पाँच चौका पनि प्रहार गरे ।
रहमानले पनि टोलीको खातामा ३१ रन थपे । उनले केवल २५ बलमा दुई छक्का र एक चौका प्रहार गरे । यी दुई ब्याट्सम्यानको साझेदारी तोडिएपछि जापानले एकपछि अर्को गर्दै विकेट गुमाएको थियो ।
जापानी टोलीका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपाली टोलीका बलर गुलसन झाले दुई विकेट लिए । मैदानमा जमिसकेका जापानी टोलीका कप्तान फ्लेमिङलाई पनि गुलसनले नै कप्तान रोहित पौडेलमार्फत क्याच गराएका थिए ।
प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले पनि दुई विकेट हात पारे । सोमपाल कामीले पनि एक विकेट कुम्ल्याए । नेपाली टोलीका बलरहरूलाई हैरान पारेका अर्का जापानी ब्याट्सम्यान रहमानलाई सोमपालले नै सन्दीप जोरामार्फत क्याच गराएका थिए ।
अन्तिम ओभरमा नन्दन यादवले पनि एक विकेट लिए । जापानी टोलीका ओपनर ब्याट्सम्यान अभिषेक आनन्दलाई भने दीपेन्द्रसिंह ऐरीले एक रनको व्यक्तिगत स्कोरमा रन आउट गरेका थिए । जापानले अतिरिक्त रुपमा १३ रन पायो ।
एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नौवटा टोली सहभागी छन् । प्रारम्भिक चरणमा नौवटा टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट पहिलो र दोस्रो हुने टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान छ ।
‘सुपर–६’ चरणमा प्रत्येक टोलीले चार–चार खेल खेल्नेछन् । एउटै समूहबाट आएका दुई टोली भने ‘सुपर–६’ चरणमा आपसमा भिड्ने छैनन् । त्यसैले प्रतियोगिताको ‘सुपर–६’ चरणमा नेपाल र जापानबीच खेल हुने छैन ।
‘सुपर–६’ चरणमा नेपालले समूह ‘ए’ र समूह ‘सी’ बाट पहिलो र दोस्रो भएर आएका टोलीहरूसँग भिडन्त गर्नेछ । ‘सुपर–६’ चरणको खेलको समाप्तिपछि अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने टोली आगामी टी–२० विश्वकपमा छनोट हुनेछन् ।