बाजुरा। बडीमालिका दर्शन गरेर फर्किँदा लडेर ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाले निकालेको छ।
विष्णुपानी क्षेत्रमा भिरमा लडेर मृत्यु भएका दुई जना धार्मिक तीर्थयात्रीको शव नेपाली सेनाले निकालेको हो। साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरी फर्कने क्रममा काठमाडौंको गोकर्णश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको घटना स्थलमै मृत्यू भएको थियो।
यस्तै बर्दिया ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको पनि साउन २४ गते भिरबाट लगेर ज्यान गएको थियो।दुवै जनाको शब बडीमालिका क्षेत्रको विष्णुपानी भिरमा अडिएको थियो।
भौगोलिक कठिनाइका कारण स्थानीय नेपाल प्रहरीले शव तत्काल उद्धार गर्न नसकेपछि नेपाली सेना खटिएको थियो । उक्त कार्यका लागि नेपाली सेनाको बाजुरा जिल्लास्थित ईस्वरीबक्स गुल्मका गुल्मपति कृष्ण तिमिलसेना स्वयं घटनास्थल पुगेर टोलीको नेतृत्व गरि रहेका छन् ।
सेनाको उद्धार टोलीले स्थानीय समुदाय र नेपाल प्रहरीको सहकार्यमा २४ गते साँझ शव निकाल्न सफल भएको तिमिलसेनाले जानकारी दिए।
"हिजो भिरबाट निकालेर आधिबाटोसम्म ल्याएका छौ भिरको अप्ठेरो बाटोमा शव बोक्न अप्ठेरो भएका कारण हिजो साँझ आधिबाटोमा राखेको र विहानदेखि शवलाई तलतिर ल्याउन काम जारी छ" तिमिल्सिनाले भने। खराव मौसमका कारण हेलिकम्पटर माथि जान नसकेपछि शव तल ल्याएर हेलिकप्परबाट पठाउने तयारी रहेको उनले बताए।