नेपाल सिरिजको अन्तिम खेलमा यूएईसँग भिड्दै

khaptadpress.com

काठमाडाैं। सान्त्वना जितको खोजीमा रहेको नेपाल सिरिजको अन्तिम खेलमा यूएई भिड्दै

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा खराब नतिजा हात पारेको नेपाल आज आफ्नो अन्तिम खेल खेल्दै छ । जारी लिगअन्तर्गत पछिल्ला तीन खेल हारेको नेपाल अन्तिम खेलमा यूएईसँग खेल्न लागेको हो ।

दुई देशबीचको खेल सदा झै बिहान सवा ११ बजेदेखि शुरू हुनेछ । गत शनिबार खेलिएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो । यो शृंखलामा अमेरिकासँग नेपाली टोलीको दोस्रा पराजय थियो । यसअघि, पहिलो खेलमा पनि नेपाली टोली अमेरिकासँग एक सय ६ रनको फराकिलो अन्तरले हारेको थियो । नेपाल दोस्रो खेलमा यूएईसँग हारेको थियो ।

अमेरिकाको भने जारी शृंखलामा लगातार चार जीत हात पारिसकेको छ । अमेरिकाले सोमबार घरेलु टोली यूएईविरुद्ध २४३ रनको सानदार जीत दर्ता गरेको थियो । जीतसँगै २४ खेलमा ३६ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ । पराजित यूएई १९ खेलबाट आठ अंकका साथ पुछारमा छ ।

जारी सिजनको लिग–२ तालिकामा नेपालको अवस्था भने सन्तोषजनक छैन । १९ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा छ । नेपालले केवल पाँच जीत र १२ हारको नतिजा निकालेको छ । नेपालको दुई खेल अनिर्णित रूपमा सकिएको छ ।​

सहभागी टोलीका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै उक्त एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् ।

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।

हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।

लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।

प्रतिक्रिया