काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो सल्लाहकार र सचिवालय टिम बनाएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघिदेखि आफूसँग जोडिएका विश्वासपात्रलाई नै उनले सचिवालयमा समावेश गरेका हुन् ।
उनको सचिवालयमा अनुभवी प्रशासक छन् । चुनावको सुरुआती दिनदेखि साथ दिने व्यक्तिहरू पनि समेटिएको छ ।
प्रधानमन्त्री बालेनले शुक्रबार (चैत १३) पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसपछि उनले आफ्नो सल्लाहकार र सचिवालय टिम विस्तार गरेका हुन् ।
स्रोतका अनुसार, मेयरको चुनावी अभियानदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनसम्म व्यञ्जनकारले बालेनका निम्ति मुख्य भूमिका निर्वाह गरेका थिए । बालेनले आमचुनावअघि राजनीतिक भेटघाट पनि ललितपुरको ज्वागलस्थित उनकै घरमा गरे । बालेन मेयर हुँदा पनि व्यञ्जनकार उनका सल्लाहकार थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश र सहमतिसम्ममा बालेनका तर्फबाट उनले नै प्रमुख भूमिका निर्वाह गरे । उनी ललितपुरमा नेपाली कांग्रेस र स्वतन्त्र रूपमा १० पटक वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारका छोरा हुन् ।
गएको पुस १३ गते बिहान रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच सातबुँदे सहमति भएको थियो । रास्वपाबाट बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति थियो ।
त्यति बेला रवि र बालेनबीच कमलपोखरीस्थित असिमकै निवासमा मध्यरातिसम्म शृंखलाबद्ध वार्तापश्चात् सहमति भएको थियो । असिम यसअघि रास्वपाबाट समानुपातिक सांसद बनेका थिए ।
यस्तै, प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदीप ढकाललाई नियुक्त गरिएको छ । उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्यतर्फ दुई नम्बरमा थिए । यो क्लस्टरबाट रमेश प्रसाईं मात्र सांसद बने ।
यसअघि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वआईटी अफिसर पनि हुन् ।
बालेनले सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्रलाई नियुक्त गरेका छन् । बालेन महानगरमा हुँदा मिश्रले आईटी विज्ञका रूपमा काम गरेका थिए ।
प्रधानमन्त्रीको निजी सचिवालय प्रमुखमा सहसचिव प्रदीप परियारलाई नियुक्त गरिएको छ ।
परियार ०८० माघ ५ गते काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए । उनले बालेनसँग केही समय काम गरेका थिए । ०८१ भदौ २७ गतेको मन्त्रिपरिषद्को बैठकबाट उनलाई सरुवा गरिएको थियो ।
पर्वतको फलेवास स्थायी घर भएका परियार निजामती सेवामा प्रवेश गरेको नौ वर्षमै खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका युवा प्रशासक हुन् । उनले सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र सूचना विभागमा काम गरिसकेका छन् ।
प्रधानमन्त्री बालेनको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)मा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्याल नियुक्त भएका छन् । उनी यसअघि ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए । उनी भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गर्ने प्रहरी अधिकारीको टिममा पनि थिए ।
प्रधानमन्त्री बालेननिकट स्रोतका अनुसार, भूपदेव शाह, नवीन भण्डारी, अर्जुन घिमिरे (पाँडे), सुरेन्द्र बजगाईं, विनय शाक्यलगायत व्यक्तिहरूलाई टिममा समावेश गर्नेबारे निर्णय हुन बाँकी छ ।
“प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय टिममा केही साथीहरू थपिनुहुन्छ । तर, अहिलेसम्म थपबारे कुनै निर्णय भएको छैन,” स्रोतले भन्यो ।
बालेन मेयर हुँदा प्रमुख स्वकीयसचिव भूपदेव शाह, सहायक स्वकीयसचिव नवीन भण्डारी, प्रेस सहजकर्ता बजगाईं र फोटोग्राफर शाक्य थिए ।