संसदमा रवि : कसैविरुद्ध प्रतिशोध लिँदैनौं, शहीदको आमालाई न्याय दिँदा प्रतिशोध नभन्नुहोला

khaptadpress.com

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्लाई प्रतिशोधको नभई बहसको थलो बनाइने बताएका छन्।


उनले हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानूनै संशोधन गरिएको र अध्यादेश ल्याइएको भन्दै त्यस्ता गलत क्रियाकलाप अबको संसदमा रास्वपा नेतृत्वको सरकारले नगर्ने दाबी गरे ।

प्रतिनिधिसभाको आजको पहिलो बैठकमा रोस्टममा उभिएर बोल्दै उनले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको अध्याय नदोहोरिने दाबी गरे । 

यद्यपि, शहीदको आमालाई न्याय दिलाउँदा त्यसलाई प्रतिशोध नभन्न उनको आग्रह छ ।

साथै, उनले आस्थाका आधारमा फरक व्यवहार नहुने र कसैको माइक नकाटिने बताए । 

‘म रास्वपाका साथीहरूलाई सम्झाउन चाहन्छु, हामी प्रश्न सोधेर आएको हो । हाम्रो बस्ने ठाउँ फेरिएको हो‚’ उनले रोस्ट्रममा उभिएर भने‚ ‘हामीलाई प्रश्न सोध्न मात्र होइन, उत्तर  दिन पनि आउँछ । ती प्रश्नमा नैतिक जिम्मेवारी हाम्रो उस्तै छ ।’

उनले प्रतिपक्षी दललाई विनम्र अनुरोध गर्दै भने- ‘हामीमाथि २४ घण्टा निगरानी गरिदिनु होला । शासनमा तपाईंहरूको लामो अनुभव छ । हाम्रा कमजोरी उजागर गर्नुहोला, कमजोरी देखाइदिनुहोला ।’

उनले रास्वपामा अहंकार नबढोस्‚ जनताबाट टाढा नहोस् र एकतर्फी निर्णय नगरोस् भनेर निरन्तर दबाब दिन समेत अनुरोध गरे ।

प्रतिक्रिया