कांग्रेसको १५ औं महाधिवेशन पुस अन्तिमसाता

khaptadpress.com

काठमाडौं।

पाली कांग्रेसले भोलि बस्ने केन्द्रीय समिति बैठकबाट १५ औं महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेको छ।

सोमबार दिउँसो २ बजे सानेपामा बस्ने केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन कार्यतालिका ल्याउन लागेको नेताहरूले जनाएका छन्।

यसका लागि पछिल्ला दिनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग कुराकानी गरेका थिए।

असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक महाधिवेशन तिथिमिति तय गर्न नसक्दा नेताहरूले पटक पटक स्थगित गरी अनौपचारिक कुराकानी गर्दै आएका थिए।

सभापति देउवा र कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले केही समयदेखि समन्वयकारी भूमिका निर्वाह गर्दै फागुन २१ को चुनावभन्दा अघि नै महाधिवेशन गर्ने गरी कुराकानी अघि बढाएका थिए र यस विषयमा पार्टीका शीर्ष तहमा लगभग सहमति छ। पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मात्र यस विषयमा खुलेर आलोचना गर्दै 'नोट अफ डिसेन्ट' लेख्ने चेतावनी दिइरहेका छन्।

प्रवक्ता प्रकाशशरण महतका अनुसार नियमित महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति खड्का लगायतले गृहकार्य गरेका छन्। 

‘पुसभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन कार्यवाहक सभापतिज्यूलगायतले गृहकार्य गर्नुभएको छ,’ उनले भने।


सभापति देउवाले निवासमा चार दिनदेखि अनौपचारिक कुराकानी गरी महाधिवेशन कार्यतालिकामा सहमति जुटाउन पहल गरेका थिए। 

तर सभापति देउवा पक्षका केही केन्द्रीय सदस्यहरूले आज बानेश्वरमा भेला गरेर चुनावअघि महाधिवेशन गर्न समय अभाव हुने भन्दै विरोध गरेका छन्। 

सभापति, कार्यवाहक सभापति, दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र केन्द्रीय सदस्य रमेश लेखकलगायत पुस अन्तिम साता १५ औं महाधिवेशन गरेर जाने गरी कार्यतालिका ल्याउन सहमत भएका हुन्।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते हस्ताक्षर बुझाएकोले त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ। तीन महिना पुस २८ गते पुग्दैछ। त्यसैले उक्त अवधि भित्रै नियमित महाधिवेशन गर्ने गरी भोलिको केन्द्रीय समितिबाट कार्यतालिका ल्याउने तयारीमा शीर्ष नेताहरू छन्।

प्रतिक्रिया