प्रजातन्त्र दिवसका अवसरमा आज (बुधबार) सार्वजनिक सन्देश जारी गर्दै पूर्वराजा शाहले ‘देश इतिहासकै सबैभन्दा गहिरो दर्दनाक अवस्थामा आइपुगेको’ उल्लेख गरेका छन्।
उनले विगतका आन्दोलनले के दियो भन्ने कुराको समीक्षा गर्नुपर्ने समय आएको पनि बताएका छन्।
‘सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटिको भूमरिमा फसेको छ। देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्’ पूर्वराजा शाहले भनेका छन्, ‘विगतमा अनेकौं नाम र अवरणमा अनेकौं आन्दोलन र संघर्ष भए। संघर्षको आडमा परिवर्तन पनि गरिए। तर, सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिए भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ।’
पूर्वराजा शाहले हाम्रा सत्रु विपन्नता र अस्थिरता भएको उल्लेख गर्दै एक नेपालीले अर्को नेपालीलाई सत्रु ठान्ने गलत संस्कृति विकास भएकोतर्फ चिन्ता पनि जाहेर गरेका छन्।
‘हाम्रो सत्रु विपन्नता र अस्थिरता हो। तर, एउटा नेपालीको बैरी अर्को नेपाललाई ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दिएका छौँ। जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितीमा आइपुगेको छ’ उनको भनाई छ।
यस्तै, उनले पूर्वी नेपालबाट राजधानी फर्किंदा आफूप्रति दर्शाइएको स्वागत र सम्मानप्रति आभार व्यक्त गर्दै यसले आफूलाई अटल दायित्वबोध मिलेको बताएका छन्।
उनले भनेका छन्, ‘मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाएको त्यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटुलाई मात्रै छोएको नभइ हाम्रा लागि एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ।’
पूर्वराजा शाहले कठिन परिस्थितीमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णबिराम लगाउँदै परस्पर सद्भाव र एकताको राजनीति गर्न पनि सबैसँग आग्रह गरेका छन्।
उनले राष्ट्रिय सहमति गरेर चुनाव गर्नुपर्नेमा द्वन्द्वलाई यथावत् राखेर चुनावमा जान लागिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।