नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्‍यो

khaptadpress.com

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकको मिति फेरि सरेको छ। 

पटक- पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समितिको बैठक मंसिर ६ गते सम्मका लागि सरेको हो। बैठकको मिति आजका लागि तय गरिएको थियो। आज एक विज्ञप्ति जारी गरि बैठक आगामी शनिवार बस्ने कांग्रेसले जनाएको छ।

यस्तै नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीभित्रका सबैलाई सहमतिमा ल्याउनका लागि केन्द्रीय समिति बैठक मिति सारिएको बताएका छन्।

महाधिवेशनबारे सहमति नजुट्दा कात्तिक २७ गतेदेखि पटक पटक केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ। आजका लागि तय केन्द्रीय समिति बैठक मंसिर ६ गते शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य विश्वकर्माले पार्टीभित्रका सबैलाई सहमतिमा ल्याएर सर्वसम्मत निर्णय लिनका लागि थप छलफल आवश्यक रहेकोले केन्द्रीय समिति बैठक सार्नुपरेको बताए।

‘सभापतिज्यू र कार्यवाहक सभापतिज्यूले सबै नेताहरूसँग अनौपचारिक रूपमा कुराकानी गर्नुभएको छ, सबैलाई सहमतिमा ल्याएर सर्वसम्मत रूपमा केन्द्रीय समितिबाट महाधिवेशनसहित विभिन्न विषयमा निर्णय लिनुपर्नेछ, त्यसैका लागि थप छलफल पनि आवश्यक रहेकोले आजको केन्द्रीय समिति बैठक स्थगित गरिएको हो,’ उनले भने।

सभापति देउवा र कार्यवाहक सभापति खड्काले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारीहरू र पूर्वपदाधिकारीहरूसँग पनि अनौपचारिक कुराकानी गरिराखेको उनको भनाइ छ। 

पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतले चुनावमा केन्द्रित भएर त्यसपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन्। उनीहरूले बानेश्वरमा बुधबार पनि केन्द्रीय सदस्यहरूको भेला राखेका थिए। यो भेलामा देउवा पक्षका २७ जना केन्द्रीय सदस्यहरू भने गएका थिएनन्। उनीहरूले कुपन्डोलमा बेग्लै भेला गरेका थिए।

साथै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला नियमित महाधिवेशन नभए अब विशेष महाधिवेशनमा जानुपर्नेमा छन्। फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने वा नगर्ने, महाधिवेशन गरे नियमित वा विशेष कुन चाहिँ महाधिवेशन गर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले भने पुस मसान्तभित्रै विशेष महाधिवेशन गर्न मिति र स्थान घोषणा गर्न माग गरेका छन्। उनीहरूले असोज २९ गते कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन मागेका थिए। सनाखतलगायत विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन उनीहरूले माग गरेका छन्।


प्रतिक्रिया