डोटी। डोटीमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शिखर नगरपालिका-८ तिलताली घर भई नेपाल प्रहरीको जवान पदमा कार्यरत शङ्कर बलायर मध्यरात मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार केआई सिंह राजमार्गअन्तर्गत गोपघाट भन्ने ठाउँमा एक व्यक्ति लडेको खबर मध्यरात १२:१५ बजे प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार बलायरको टाउकोमा गम्भीर चोट लागेको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय डोटीले गहन अनुसन्धान गरिरहेको जनाएको छ । मृतक बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी असोज ७ गतेदेखि लागू हुने गरी १८ दिनको बिदामा घर आएका थिए ।
१८ असोज २०८२, शनिवार ०९:२० मा प्रकाशित