काठमाडौं। नेकपा (एमाले) को ११ औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय समितिको चयनको खाका पास गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा केन्द्रीय सदस्य समिति चयनका लागि क्लस्टर सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको थियो। त्यसलाई बन्दसत्रले पारित गरेको एक नेताले बताए।
एमालेले सात प्रदेश र उपत्यकालाई पनि प्रदेश सरहकै एकाइमा रुपमा राखेको छ। जसअनुसार, आठ प्रदेशबाट नौ जनाका दरले ७२ केन्द्रीय सदस्यीय चुनिनेछन्। प्रत्येक प्रदेशमा खुल्लाबाट पाँच, महिला तीन र युवा एक जना रहेछन्।
यस्तै, देशभरीबाट खुल्ला प्रतिस्पर्धामार्फत १२५ जना केन्द्रीय सदस्य आउनेछन्। यसमा खुल्लाबाट ७१, महिला ५२ र युवा २ जना हुनेछन्।
जनजाति आदिवासीतर्फ एमालेका २५ केन्द्रीय सदस्य रहेका छन्। यसमा खुल्लाबाट १५, महिला ८ र युवा २ केन्द्रीय सदस्य चुनिनेछन्।
मधेसी क्लस्टरमा २० केन्द्रीय सदस्य आउनेछन्। यसमा खुल्ला ११, महिला ६ र युवा २ जना हुनेछन्।
प्रवासबाट दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। जसमा भारतबाट १ र अन्य देशबाट १ जना चयन हुनेछन्।
एमालेले श्रमिकबाट ३ जना केन्द्रीय सदस्य आउने व्यवस्था रहेको छ। यसमा पनि खुल्लाबाट दुई र महिला एक जना आउनेछन्।
अपाङ्गता भएका व्यक्तिबाट एक जना केन्द्रीय सदस्य आउनेछन्। यसमा खुल्ला प्रतिस्पर्धा हुनेछ।
दलिततर्फ १२ जना केन्द्रीय आउनेछन्। जसमा खुल्लाबाट ७, महिलाबाट ४ र युवाबाट १ जना चयन हुनेछन्।
थारू समुदायबाट ८ जना केन्द्रीय सदस्य चयन हुनेछन्। यसमा खुल्लाबाट ५ र महिला ३ जना आउने व्यवस्था गरिएको छ।
मुस्लिम समुदायबाट ५ केन्द्रीय सदस्य रहने व्यवस्था छ। यसमा खुल्लाबाट ४ र महिलाबाट १ जना चुनिनेछन्।
पीछडिएको क्षेत्रबाट दुई जना केन्द्रीय सदस्य आउनेछन्। यसमा पनि खुल्लाबाट एक र महिलाबाट एक केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ।
बन्दसत्रले पदाधिकारीसम्बन्धी व्यवस्था पनि पारित गरेको हो। एमालेको १९ सदस्यीय पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन्।