काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरेका बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय पुगेका छन् । आइतबार दिउँसो मेयरबाट राजीनामा गरेर शाह रास्वपा पार्टी कार्यालय पुगेका हुन् ।
बालेनलाई रास्वपा सभापति रवि लामिछानेले पार्टी कार्यालयमा अंगालो हालेर स्वागत गरेका छन् । बालेन आउने बेला रास्वपा पार्टी कार्यालय वनस्थलीमा कार्यकर्ताको भीड लागेको थियो ।
२०७९ सालको चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौंको मेयर निर्वाचित शाह आजैदेखि दलीय राजनीतिमा प्रवेश गरेका छन् । उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ ।
रास्वपा वरिष्ठ नेताको रूपमा उनले पार्टी कार्यालयमा पदभार सम्हालेका छन् । भोलि उनी मधेशको जनकपुरमा आयोजना हुने रास्वपाको वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुँदैछन् ।
जनकपुरको कार्यक्रममा सहभागी भएर बालेन उम्मेदवारी मनोनयनका लागि झापा जाने तयारी गरेका छन् ।
बालेनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग झापा ५ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।