लुटेको प्रहरीको पेस्तोल किनबेचमा संलग्न ५ जना पक्राउ

khaptadpress.com

काठमाडौं। भदौ २४ गते लुटिएका प्रहरीको पेस्तोल किनबेच गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले एउटा पेस्तोल, एउटा म्याग्जिन र १५ वटा गोलीसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

भदौ २४ गते प्रहरीको कार्यालयबाट लुटपाट गर्नेमा धुनिबेशी गाउँपालिका घर भई काठमाडौं बस्ने २१ वर्षीय कृष्ण गुरूङ छन्। उनी काठमाडौं-१५ को चुरा पसलमा काम गर्छन्।

उनलाई पक्राउ गरेपछि पेस्तोल बेचिसकेको खुलेको थियो। उनले काठमाडौंको भगवान पाउँस्थित जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउलालाई बेचेको बयान दिएका थिए। त्यसपछि प्रहरीले देउलाको खोजी गर्दा उनले पनि बेचिसकेको खुलेको थियो।

यसरी क्रमश: बेचेर बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्यबाट क्षेत्रपाटी बस्ने ३८ वर्षीय प्रभात मल्लसम्म पुगेको देखिएको हो। उनीहरू पाँचै जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘एकले अर्कोलाई बेच्दैबेच्दै लगेपछि अन्तिममा एक जना हतियारसहित पक्राउ परेका हुन्,’ एसपी भट्टराईले भने।

पक्राउ पर्नेमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया