अछाम । महिनावारी भएको बेला छाउ बार्न बसेका बालिकासहित दुई जनाको मृत्यु र एक गम्भीर घाइते भएपछि फेरि छाउगोठ भत्काउने अभियान सुरु भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका—८ बारलाकी ३९ वर्षीय निम खनाल, ३६ वर्षीया रत्नकला भण्डारी र ७ वर्षीया बालिका कविता भण्डारी बिहीबार राति छाउ बार्न बारीमा बसेका थिए । मध्यरातमा त्रिपाल टाँगेर बसेको माथिबाट वर्षा भइरहेको समयमा निम र कविताको मृत्यु भएको थियो । घाइते रत्नकलाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
बारलाको सेलापानीस्थित चुरखोली टोलमा घटना भएपछि वडाध्यक्ष छत्रबहादुर शाहीले आफ्नै घरमा भएको छाउगोठ शनिबार भत्काएका छन् । आफ्नै घरमा रहेको छाउगोठ भत्काएर अभियान सुरु गरेका शाहीले वडा ८ का ९ वटै टोलमा छाउगोठ भत्काउने बताए । सोही अनुरूप वडाध्यक्षसहित अन्य जनप्रतिनिधि, स्थानीय अगुवा, प्रहरीले बारलामा शनिबार १९ वटा छाउगोठ भत्काएका छन्। प्रहरीले अन्य वडामा पनि गोठ भत्काउने अभियान संचालन गर्ने जनाएको छ।
१५ भदौ २०८२, आईतबार ११:३४ मा प्रकाशित