बैतडी । तीन साताअघि खेल्ने क्रममा करेन्ट लागेर बैतडीको डिलासैनी–३ गिरीबगडका १४ वर्षीय किरन कोलीको मृत्यु भएको घटनामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री रहेका सुरेन्द्रबहादुर पाल विवादमा तानिएका छन् ।
साउन १७ गते घर नजिकै थुपारिएको बालुवामा खेल्ने क्रममा करेन्ट बालक किरन कोलीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुखसमेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार बालुवाको थुप्रोमाथि खेल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कोलीलाई गोकुलेश्वर अस्पतालमा पुर्याइएको थियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पोस्टमार्टमपछि डिलासैनी गाउँपालिका–३ का वडाध्यक्ष रघुवीर बोहराले मृतककी आमा राजमतिका कान्छा ससुरा हरिचन्द्र कोलीसँग पाँच लाख क्षतिपूर्ति दिने सहमति गरेपछि त्यसै दिन शव बुझेका थिए । मृतकका कान्छा बाजे हरिचन्द्रकै अगुवाइमा भएको सहमति अनुरूप वडाध्यक्ष बोहराले साउन १८ ग्लोबल बैंकमार्फत मृतककी आमा राजमतिको खातामा पाँच लाख जम्मा गरेका थिए । वडाध्यक्ष बोहराले रकम जम्मा गरेको स्विकारे । मन्त्री पाल र वडाध्यक्ष बोहराको एउटै पार्टी र एउटा वडाका बासिन्दा हुन् ।
तर राजमतिले भने आफू बेहोस जस्तो अवस्थामा रहेका बेला बेला पाँच लाखमा घटना मिलापत्र गरिएको सुनेर झन् पीडा भएको बताउँदै आफूलाई कुनै जानकारी र मान्य नभएको बताइन् । ‘म होसमा आएपछि मात्रै खातामा पैसा जम्मा गरेको कुरा थाहा पाएकी हुँ,’ राजमतिले भनिन्, ‘म मान्दैन, प्रहरीलाई उजुरी दिन्छु भन्दा त्यतिबेला कान्छा ससुराले मानेनन् । घटनाका बेला साउदीमा रहेका देवर तुलाराम घर फर्केपछि उनलाई ल्याएर न्यायको लागि सदरमुकाम आएकी हुँ ।’ राजमतिका श्रीमान्को मृत्यु भइसकेको छ । अहिले उनका ११ वर्षीय कान्छा छोरा छन् ।
उनले पैसाभन्दा पनि न्याय चाहिएको भन्दै साउन ३० गते सदरमुकाम गढीस्थित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन आइन् । तर प्रहरीले जिल्लामा जाहेरी दर्ता नहुने भन्दै इलाका प्रहरी कार्यालय पाटन जान भन्यो । त्यसै दिन उनी देवर तुलाराम कोलीसँग पाटन पुगिन् । तर इलाका प्रहरी कार्यालय पाटनका प्रहरीले कागजात नमिलेको भन्दै जिल्लामै जान भन्दै फर्काएको उनले बताइन् । त्यसपछि सदरमुकाममै बसेर बुधबार हुलाक कार्यालयमार्फत मन्त्री पाल, उनका छोरा मुकेश र वडाध्यक्ष रघुवीर बोहराविरुद्ध किटानी जाहेरी पठाएको तुलाराम कोलीले बताए ।
बैतडी प्रहरीले मन्त्री पालको नाममा निर्माण कम्पनी दर्ता नरहेको र घटनाका बखत मन्त्री, उनका छोरा मुकेश र वडाध्यक्ष कोही पनि नभएको बताउँदै घटनामा प्रत्यक्ष संलग्न भएका व्यक्तिहरूको नाममा जाहेरी ल्याउनु भनेर पठाएको दाबी गरेको छ । ‘हामीले घटनाको अनुसन्धान गर्ने हो, वारदात स्थलमा नभएको व्यक्तिविरुद्ध जाहेरी ल्याएका थिए, त्यसैले जाहेरीको व्यहोरा मिलाएर ल्याउनु भनेका हौं,’ बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेयले भने, ‘प्रारम्भिक प्रमाणहरू पुगेपछि मुद्दा दर्ता नगर्ने भन्ने हुँदैन, जोसुकै भएपनि हामी अनुसन्धान गर्छौं ।’
उनले घटना भएको दिन गरिएको प्रारम्भिक अनुसन्धान मुचुल्का अनुसार विद्युत्को तार नजिक बालुवाको थुप्रोमा मृतक बच्चाले खेल्ने क्रममा तारलाई छोएर घटना भएको बताए । यता विद्युत् प्राधिकरण बैतडीका प्रमुख जनार्दन पौडेलले विद्युत् प्राधिकरणको कमजोरीका कारण घटना भएमा क्षतिपूर्ति दिने व्यवस्था रहेको बताउँदै उक्त घटनामा प्राधिकरणको कुनै कमजोरी नरहेको जनाएका छन् । घटना लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी डिलासैनी समिति र नेपाली कांग्रेस डिलासैनी गाउँ कार्यसमितिले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका थिए । दुवै पार्टीले उक्त घटनामा मन्त्री पाललाई जोडेका थिए ।
मन्त्री पालको संरक्षणमा उत्खनन गरी थुपारिएको बालुवाको ढिस्कोका कारण करेन्ट लागेर बालकको मृत्यु भएको दुवै पार्टीले आरोप लगाएका थिए । बालुवा मन्त्री पाल परिवारले नै संकलन गरेको बालुवा घटनापछि रातारात हटाइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको थियो । साथै, पीडित परिवारमाथि आर्थिक प्रलोभन पनि दिइएको आरोप पनि पालमाथि लगाइएको थियो ।
यता, मन्त्री पाल भने उक्त घटनामा आफूलाई अनावश्यक र पूर्वाग्रही रूपमा जोडिएको बताउँछन् । ‘त्यस घटनामा मेरो कुनै पनि संलग्नता नै छैन, म त असारदेखि बैतडी गएकै छैन,’ उनले भने, ‘राजनीतिक पूर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ ।’ काम गर्ने टिम छुट्टै हुने भएकाले मलाई सबै जानकारी हुने कुरा भएन,’ उनले भने, ‘मुख्य कुरा मृत्यु कसरी भयो भन्ने हो । नहुनुपर्ने दुर्घटना त भयो, तर बच्चाको मृत्यु त करेन्टका कारण भएको भन्ने सबैलाई थाहै छ त ।’ पाल एमालेबाट निर्वाचित हुन् । कान्तिपुरबाट