कप्तान रोहितको शतकसँगै नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

khaptadpress.com

काठमाडाैं। आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बिहीबार जारी खेलमा नेपालले आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि दुई सय ३४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रन बनाएको हो ।

नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीका लागि एक सय नौ रनको योगदान गरे । उनले एक सय ३० बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो दोस्रो शतक हो ।

रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् । यो ढाँचाको क्रिकेटमा उनी दुई हजार रनको नजिक छन् । चौथो नम्बरमा क्रिज समाल्न आएका २३ वर्षीय रोहितले एक सय २६ बलमा शतक पूरा गरेका थिए ।

नेपाली टोलीका लागि ओपनर आसिफ शेखले ३५ रन बनाए । आरिफ शेखले टोलीको खातामा २७ रन थपे । उप–कप्तान दीपेन्द्रसिंह ऐरीले पनि २३ रन बटुले । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । सन्दीप लामिछाने तीन रनमा अविजित रहे ।

यूएईका जाहिद अलीले चार विकेट लिए । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका जाहिद अलीले आफ्नो ‘डेब्यू’ खेलमै चार विकेट हात पारेका हुन् । बलर जुनैद सिद्दकीले पनि तीन विकेट हात पारे । नेपाली टोलीले अतिरिक्त रुपमा पनि सात रन पायो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १२ बलमा एक चौकाको मद्दतले केवल सात रन बनाउँदै पेभेलियन फर्किए । उनलाई यूएईका बलर हैदर अलीले बोल्ड गरेका हुन् । पाँचौँ ओभरको पहिलो बलमा भुर्तेल आउट हुँदा नेपालले केवल २३ रन बनाएको थियो ।

नेपालले आफ्नो दोस्रो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम १३ बलमा केवल तीन रन बनाउँदै आउट भए । उनलाई मुहम्मद रोहिदले एलबीडब्लूको धरापमा पारे । आठौँ ओभरको तेस्रो बलमा उनी आउट हुँदा नेपालले २६ रनमात्र बनाएको थियो ।

नेपाली टोलीले आफ्नो तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ ३५ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

आसिफले ४८ बलको सामना गरी चार चौका पनि हिर्काए । उनलाई जुनैद सिद्दकीले ध्रुव परासरद्वारा क्याच गराएका थिए । १८औँ ओभरको पहिलो बलमा आसिफ आउट हुँदा नेपालले ६१ रन बनाएको थियो ।

नेपाली टोलीले चौथो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । उनी ४२ बलमा दुई चौकाको मद्दतले २७ रन बनाउँदै पेभेलियन फर्किए । उनी जुनैद सिद्दकीको बलमा बोल्ड भएका थिए । ३३औँ ओभरको चौथो बलमा आरिफ आउट हुँदा नेपालले एक सय ३१ रन बनाएको थियो । रोहित र आरिफ शेखले ७० रनको साझेदारी गरेका थिए ।

नेपाली टोलीले पाँचौँ विकेटका रुपमा उप–कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । दीपेन्द्र केवल २८ बलमा एक चौकाको मद्दतले २३ रन बनाउँदै आउट भए । उनी दूर्भाग्यपूर्ण तरिकाले रन आउट भएका हुन् । ४२औँ ओभरको दोस्रो बलमा दीपेन्द्र आउट हुँदासम्म नेपालले एक सय ८५ रन बनाएको थियो

नेपालले छैटौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी पहिलो बलमै उप–कप्तान दीपेन्द्रसिंह ऐरीलाई पछ्याउँदै पेभेलियन फर्किएका हुन् । गुलसनलाई जुनैद सिद्दकीले विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराएका थिए । ४२औँ ओभरको पाँचौँ बलमा गुलसन आउट हुँदा नेपालले एक सय ८६ रन बनाएको थियो ।

नेपाली टोलीले सातौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमायो । उनी १३ बलमा ६ रन बनाउँदै आउट भए । उनी जाहिद अलीको बलमा बोल्ड भएका थिए । जाहिद अलीले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका हुन् । ४८औँ ओभरको तेस्रो बलमा सोमपाल आउट हुँदा नेपालले दुई सय १० रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो । उनी लामो समय क्रिजमा टिकेर उत्कृष्ट शतकीय पाली खेल्दै आउट भए । उनले टोलीका लागि एक सय नौ रनको योगदान गरे । यसक्रममा उनले एक सय ३० बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।

कप्तान रोहित जाहिद अलीको बलमा विकेटकिपर शर्माद्वारा समातिएका थिए । ४८औँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले दुई सय १७ रन बनाएको थियो ।

नेपाली टोलीले नवौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । उनी आठ बलमा १३ रन बनाउँदे आउट भए । उनलाई जुनैद अलीले परासरद्वारा क्याच गराएका थिए । अन्तिम ओभरको पाँचौँ बलमा उनी आउट हुँदा नेपालले दुई सय ३३ रन बनाएको थियो ।

नेपालले अन्तिम विकेटका रुपमा ललित राजवंशीलाई गुमायो । उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भए । उनी पहिलो बलमै आउट भए । उनलाई पनि जुनैदले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए ।

प्रतिक्रिया