मर्यादित महिनावारीसम्बन्धी पैरवी तालिम संचालन

khaptadpress.com

अछाम। मर्यादित महिनावारीसम्बन्धी दुई दिने पैरवी तालिम मंगलसेनमा सुरु भएको छ। 

स्थानीय सरकारको नेतृत्व र सरोकारवालाहरुका लागि तालिम संचालन भएको हो। महिनावारीबारे गलत भ्रमहरु चिर्ने तथा यसको महत्वबारे सही जानकारी दिने तालिमको उद्देश्य रहेको छ।

मर्यादित महिनावारी अभियान्ता डाक्टर राधा पौडेल र पत्रकार गोविन्द खड्काले तालिमको सहजिकरण गरिरहेका छन्। तालिमको पहिलो दिन बुधबार महिनावारीसँग सम्बन्धित विविध पक्षहरुबारे सहभागीहरुको भोगाई, अनुभव, बुझाई तथा यससम्बन्धी संचालन भइरहेका गतिविधिको प्रस्तुतिकरण गरिएको थियो। 

प्रशिक्षक पौडेलले महिनावारी हुने प्रक्रिया र यसको महत्वबारे विस्तृतमा जानकारी गराइन्। सो अवसरमा उनले महिनावारी हुँदा आउने रगत सफा, शुद्ध र पवित्र रहेको र यही रगतबाट हामी जन्मिएको कुरा सबैले बुझ्न र बुझाउन अत्यन्त जरुरी रहेको बताइन्। तालिममा जिल्लास्थित १० वटै पालिकाका उपप्रमुख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखहरु, संचारकर्मीहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ। 

समविकास नेपालले आयोजना गरेको तालिममा सामाजिक विकास कार्यालय अछाम सहआयोजक छ भने ग्रिनतारा नेपालले सहकार्य गरेको छ। 

समविकास नेपालका अध्यक्ष दुधकला विष्टको अध्यक्षतामा भएको तालिम सुभारम्भ कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख डम्वर रावलले तालिमको उद्देश्य बताएका थिए।

प्रतिक्रिया