काठमाडौं। सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार वर्तमान सरकारका मन्त्रीमा कोही करोडौँका मालिक देखिएका छन् भने कोही तुलनात्मक रूपमा सामान्य अवस्थामा रहेका छन् ।
प्रधानमन्त्री युट्युब र फेसबुकबाटै करोडौँको मालिक
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण निकै रोचक देखिएको छ । उनको आम्दानीको मुख्य स्रोत कला र डिजिटल प्लेटफर्म देखिएको छ ।
उनको विभिन्न बैङ्क खातामा फेसबुक, युट्युबबाट प्राप्त भएको कुल ३ करोड रुपैयाँ भन्दा बढी मौज्दात छ । उनको श्रीमती सविना काफ्लेसँग १९० तोला सुन छ, जसको स्रोत पैतृक बताइएको छ ।
यस्तै काठमाडौँमा ५ आनामा बनेको घर, धनुषामा १.२ बिघा र महोत्तरीमा ९ बिघा जग्गा रहेको छ ।
उनले आफ्नो सम्पत्तिको रूपमा फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र ट्विटरमा ५ लाख फलोअर्सलाई पनि उल्लेख गरेका छन् ।
सबैभन्दा धनी मन्त्री: स्वर्णिम वाग्ले निशा मेहता
सम्पत्ति विवरणका आधारमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता र सबैभन्दा धनी देखिएका छन् । जसमा अर्थमन्त्री वाग्लेसँग ललितपुरमा दुई वटा घर र अपार्टमेन्ट, तनहुँ र बन्दापुरमा घर तथा अपार्टमेन्ट गरी करिब १२ करोड रुपैयाँ भन्दा बढीको अचल सम्पत्ति छ । उनको बैङ्कमा १ करोड नगद र विभिन्न कम्पनीमा करोडौँको शेयर लगानी छ । यद्यपि, उनले करिब ४ करोड रुपैयाँ ऋण पनि देखाएका छन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री मेहताको बैङ्क ब्यालेन्स मात्रै ७ करोड २३ लाख रुपैयाँ भन्दा बढी छ । साथै, काठमाडौँमा ६ रोपनी र मोरङमा ८ बिघा जग्गा रहेको छ ।
शिक्षा मन्त्री सस्मित पोखरेलसँग काठमाडौँमा ४ करोड र ५ करोड मूल्यका दुई वटा भव्य घर रहेका छन् । उनको बैङ्कमा पनि ३ करोड रुपैयाँ मौज्दात छ ।
तुलनात्मक रूपमा गरिब मन्त्री: सीता बादी र रामजी यादव
मन्त्रिपरिषद्मा सबैभन्दा कम सम्पत्ति हुनेमा महिला मन्त्री सीता बादी देखिएकी छन् । उनको बैङ्क खातामा करिब १५ लाख रुपैयाँ मात्र छ । काठमाडौँमा पैतृक घर र सुर्खेत तथा नुवाकोटमा सानो टुक्रा जग्गा रहेको छ । उनीसँग १८ तोला सुन छ ।
श्रम मन्त्री रामजी यादवसँग सप्तरीमा केही जग्गा र बैङ्कमा ७० लाख रुपैयाँ छ । उनीसँग एउटा मोटरसाइकल र ल्यापटप मात्र अतिरिक्त सम्पत्तिको रूपमा छ ।
परराष्ट्र मन्त्री शिशिर खनालसँग तनहुँ र नवलपुरमा २७ रोपनी जग्गा, २२ तोला सुन र ४० लाखको गाडी छ भने ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग काठमाडौँको इन्द्रचोक र ताहाचलमा पैतृक घर, १५ तोला सुन र ६५ लाखको ल्यान्ड क्रुजर गाडी छ । कानूनमन्त्री सोविता गौतमसँग बैङ्कमा १ करोड ५० लाख नगद, १५ तोला सुन र १ तोला हीरा छ ।
गृहमन्त्री सुधन गुरुङसँग गोर्खामा २२१ रोपनी जग्गा र ३ करोड बराबरको शेयर लगानी भने उद्योग मन्त्री गौरी कुमारी यादवसँग काठमाडौँमा घर, १८ तोला सुन र २ केजी चाँदी छ । उनले करिब २ करोड ८० लाख रुपैयाँ ऋण पनि देखाएकी छन् ।