धनगढी. सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतीले पारित भएको छ। बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विद्येयक सर्वसम्मतीले पारित गरिएको हो।
यसअघि दुई दिनसम्म चलेको बजेटमाथीको छलफलमा प्रतिपक्ष र सत्ता पक्षका अधिकांश प्रदेश सभा सदस्यले बजेटमाथि असन्तुष्टि जनाएका थिए। उनीहरुले बजेटमा बिचौलिया हावी भएको आरोपसमेत लगाएका थिए। सतापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले बजेट माथीको छलफलमा भाग लिएका थिए।
बजेटको छलफलमा भाग लिएका अधिकाश प्रदेश सभा सदस्यले विचौलियामार्फत योजना खरिद-बिक्री गरेको आरोप लगाउँदै छानविन गर्न संसदीय समिति बनाउन माग गरेका थिए। तर बुधबार छलफल सकिएपछि बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विद्येयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
थापाले पेश गरेको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निणायर्थ प्रदेश सभा बठकमा पेश गरेका थिए। ध्वनी मत विभाजन गर्दै विधेयक निर्णायर्थ पेश गरेका सभामुख भण्डारीले राजश्व व्ययको अनुमान बजेट र सोसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतीले पारित भएको घोषणा गरेका छन्।
प्रस्तावको विपक्षमा आवाज नसुनिएको बताउँदै उनले विधेयक सर्वसम्मतीले पारित भएको बताएका छन् । असार १ मा आर्थिक मामिला मन्त्री थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएका थिए।