काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हासिल गरेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा अलआउट हुनुअघि एक सय ४३ रन बनाएको थियो।
सुदूरपश्चिम रोयल्सको जितमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान विनोदले टोलीका लागि अविजित ६९ रनको योगदान गरे ।
यसक्रममा उनले ४९ बलको सामना चार छक्का र पाँच चौका हिर्काए । विनोदले अर्धशतक भने ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतले पूरा गरेका थिए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले पनि टोलीका लागि ३९ रनको योगदान गरे । उनले ३७ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए ।
क्रिस लिन १४ बलमा दुई छक्का र एक चौकाको मद्दतले १६ रन बनाउँदै आउट भए । ओपनर जोस ब्राउनले पनि सात बलमा दुई चौकाको मद्दतले नौ रन बनाए । हरमित सिंह सात रनमा अविजित रहे ।
लुम्बिनी लायन्सका बलर रुवेन ट्रम्पलम्यान, अभिषेश गौतम र तिलक भण्डारीले एक–एक विकेट लिए । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा पाँच रन पायो ।
त्यसअघि, लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ३६ बलमा तीन चौका प्रहार गरे ।
दिलीप नाथले पनि टोलीको खातामा ३१ रन थपे । चौथो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान दिलीपले २९ बलमा एक छक्का र दुई चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान डी’आर्ची सर्ट ११ बलमा चार चौकाको मद्दतले १८ रन बनाउँदै आउट भए । अर्का ओपनर सुमित महर्जनले पनि १४ बलमा तीन चौकाको मद्दतले १८ रन बनाए ।
गुलबदिन नाइब नौ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । शेर मल्ल चार रनमै पेभेलियन फर्किए । रुबेन ट्रम्पलम्यानले खातासम्म खोल्न सकेनन् ।
सातौं नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले सात बलमा सात रन बनाए । थोमस ड्राका चार बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भए । अभिषेश गौतमले ६ रन बनाए ।
सुदूरपश्चिमका बलर हरमित सिंह र अविनाश बोहराले तीन–तीन विकेट लिएका थिए । हेमन्त धामीले पनि दुई विकेट हात पारे । स्कट कुग्गेलेइजनले एक विकेट कुम्ल्याए ।