चुनावको पूर्वसन्ध्यामा कांग्रेसमा फर्किने लहर, विश्लेषक भन्छन्- नेतृत्व फेरिँदा माहोल बदलियो

khaptadpress.com

काठमाडौं। आइतबार रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरे ।

सुर्खेतमा आयोजित  कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई स्वागत गरे । ७ फागुन बिहीबारका दिन काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा प्रभावशाली उपस्थिति रहेका रास्वपाका दुई नेता कांग्रेस प्रवेश गरे ।


२०७९ मा रास्वपाबाट यो क्षेत्रमा चुनाव लडेका डा. प्रणय शमशेर राणा मात्र होइन, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी कांग्रेस प्रवेश गरे । यसको प्रत्यक्ष लाभ काठमाडौं ५ बाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री प्रदीप पौडेललाई पुग्ने देखिन्छ ।

पछिल्लो केही दिनयता रास्वपा छाडेर हाइप्रोफाइल नेताहरू धमाधम कांग्रेस प्रवेश गर्न थालेका छन् । ६ फागुनमा रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा कांग्रेस प्रवेश गरिन् । पार्टी विधि र विधानविपरीत चलेको भन्दै उनले रास्वपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।

यस्तै‚ ११ फागुनमा  मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली कांग्रेसमा आए । यसबाहेक १२ फागुनमा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँ पनि कांग्रेसमा फर्किएका छन् ।

रास्वपा परित्याग गरेका नेता प्रणय शमशेर राणा राष्ट्रिय स्वतन्त्र पार्टीमा विधि, नीति, विधान भन्ने कुरा नारामै सीमित भएको बताउँछन् । कांग्रेसले भने त्यही विधि र नीतिलाई आफ्नो विधानअनुसार मानेर आफूलाई परिवर्तन गर्दै अभ्यासमा उतारेकाले पनि आफूहरू पुरानै घर फर्किएको उनीहरूको धारणा छ ।

‘रास्वपाभित्र अरूको हकमा चाहिँ नयाँपनको कुरा गरियो, राष्ट्रियताको कुरा गरियो, तर दलभित्रै भने विधि, नीति, विधान भन्ने विषय नारामै सीमित रह्यो । त्यही भएर कांग्रेसमै फर्किए‚’ उनले भने ।

गगन-विश्वले पार्टी हाकेपश्चात् आयो उभार

पछिल्लो समय आफूलाई नयाँ भनेर मार्केटिङ गर्दै चुनावी मैदानमा होमिएको दल हो, रास्वपा । २३ र २४ भदौको जेनजी विद्रोहको टेको समाएर रास्वपाले चुनावी ब्रान्डिङ गर्न छाडेको छैन । रवि लामिछाने र बालेन्द्र शाहको जोडी बनाएर रास्वपाले मत मागिरहेको छ । मधेशको छोरालाई प्रधानमन्त्री बनाउने भन्दै मधेश सेन्टिमेन्टमा खेलिरहेको रास्वपाले मुख्य तारो कांग्रेसलाई मानेको छ । तर‚ त्यही दलभित्रबाट भटाभट नेता कार्यकर्ताहरू कांग्रेस प्रवेश गर्ने क्रम जारी छ ।

यस पछाडिको मुख्य कारण २७ देखि ३० पुससम्म राजधानी काठमाडौंमा भएको विशेष महाधिवेशन नै हो । विशेष महाधिवेशनले जकडिएर बसेको कांग्रेसको पुरानो पुस्तालाई किनारामा पुर्‍याइदियो । आशा र भरोसा गरिएका दुई नेताहरू गगन थापा र विश्वप्रकाश शर्माको काँधमा नेतृत्व सुम्पियो । प्रदीप पौडेल र गुरू घिमिरेलाई महामन्त्री बनाएर संगठन थप बलियो बनाउने काम विशेष महाधिवेशनले गर्‍यो ।

इतिहासमा पहिलोपटक महिलाहरूलाई केन्द्रीय पदाधिकारीमा बलियो स्थान दिएर कांग्रेसले आफूलाई सुधारको पक्षमा उतार्‍यो । देशको विविधता अनुसारको केन्द्रीय कार्यसमिति बनाउने‚ युवा नेतृत्वलाई अवसर दिने तथा वर्षौं पार्टीमा दु:ख गरेकाहरूलाई पनि थप अवसरको वातावरण सिर्जना गर्ने काम गर्‍यो । समग्रमा कांग्रेसले नारा दियो- ‘बदलियो कांग्रेस‚ बदल्छौं देश ।’

‘नेपाली कांग्रेसले आफ्नो इन्टरनल डेमोक्रेसीमा काम गरेर देखाएको छ भन्ने एउटा सकारात्मक छाप बौद्धिक वर्गमा परेको छ‚’ प्रणय थप्छन्‚ ‘विशेष महाधिवेशनपछि आएको नेतृत्व र सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढेको सन्दर्भले त्यो माहोल अझ बलियो बनाएको छ ।’

विशेष महाधिवशेनपश्चात नयाँ जोश र उमंग बोकेर कांग्रेस चुनावमा छ । एक सय बढी नयाँ मानिसहरूले टिकट पाएका छन् । पुराना तथा अधिकांश चार्ज लागेका नेताहरू टिकटबाट वञ्चित भएका छन् । सुध्रिएको र सुधारिएको कांग्रेसले माहोल पनि सुधारेको छ । जनतामा उत्साह थपिएको छ ।

राजनीतिक विश्लेषक जेनेन्द्र शर्मा जीवन नयाँ विशेष महाधिवेशनबाट आएको नेतृत्व तथा तिनका सारथिहरूको साथले मतदाताहरू समेत उत्साहित भइरहेको बताउँछन् ।

‘पुराना नेताहरूको अनुहार मिडियामा देख्दा समेत घरपरिवार तथा छिमेकी दिक्क भएका थिए‚’ विश्लेषक शर्मा भन्छन्‚ ‘विशेष महाधिवेशनले ल्याएको जोडीले कांग्रेसको गुमेको शाख फिर्ता गर्न र नयाँ मतदातामा उभार ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देख्छु ।’

मधेशमा आएको लहर

६ फागुनमा कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा गर्‍यो । त्यहीँबाट पार्टीले निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्‍यो । भिजन १० सहित सार्वजनिक भएको वाचापत्रले मधेशमा छुट्टै तरंग पैदा गरेको छ ।

मधेश कांग्रेसका लागि जननी र भोट बैंक हो । पार्टीको स्थापना पनि तराईबाटै भएको हो । कांग्रेसलाई हुर्काउने काम मधेशले नै गरेको हो । तर‚ मधेश आन्दोलनपश्चात मधेशमै विस्तारै कमजोर बन्दै गएको कांग्रेस यसपटक पुनः सशक्त बनेर उदाउने प्रयासमा छ ।

धेरै जनसंख्या र ठूलो मात्रामा मतदाता रहेको मधेशमा ३२ सीट प्रत्यक्षमा छ । समानुपातिकमा पनि ५० लाख बढी मतदाता यहीँ छन् । यी मतमध्ये धेरै आफ्नो पक्षमा पार्न कांग्रेस सभापति गगनकुमार थापा स्वयं मधेश झरेका छन् । सर्लाही ४ बाट उम्मेदवार बनेका थापाको प्रभाव सिङ्गो मधेश प्रदेशका निर्वाचन क्षेत्रमा पर्ने बताउँछन्, रौतहट दुईबाट निर्वाचन लडिरहेका फिर्दोस आलम ।

‘सभापतिज्यू सर्लाहीमा चुनाव लड्दा मधेशमै सकारात्मक प्रभाव परेको छ‚’ फिर्दोसले लोकान्तरसँग भने‚ ‘पार्टी सभापति, हुनेवाला प्रधानमन्त्री हाम्रो नजिकै निर्वाचन क्षेत्रमा लड्दा मेरो भोटमा पनि राम्रो प्रभाव परेको छ ।’

राजनीतिक विश्लेषक पुरूषोत्तम दाहाल पनि विशेष महाधिवेशनको औचित्य पुष्टि गर्नु‚ ७० वर्ष बढीको लोकतान्त्रिक इतिहासलाई संरक्षण गर्न र रास्वपाको बढ्दो प्रभावलाई चिर्न पनि मधेशको मतको महत्त्व कांग्रेसभित्र रहेको धारणा राख्छन् ।

हुन पनि पहाडी क्षेत्र, काठमाडौं उपत्यका र मधेश प्रदेशका मतदाताको समीकरण नेपाली राजनीतिमा महत्त्वपूर्ण छ । पहाडमा कम भोट तथा उपत्यका र मधेशमा बढी भोट छ । पछिल्लो समय उपत्यका र मधेशको राजनीतिक समीकरणमा केही नयाँ विम्बहरू देखिएका छन् ।

जस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा मेयर जितेका मधेश समुदायबाट प्रतिनिधित्व गर्ने बालेन शाहलाई प्रधानमन्त्री बनाउने भनेको छ । जसले सिङ्गो ‘मधेशको समुदाय’मा एक प्रकारको आकर्षण पैदा गरेको छ ।

‘यो नेपाली कांग्रेसका लागि ठूलो चुनौती हो । त्यसको सामना गर्न गगनजी स्वयं मधेशमा गएर म पनि तिमीहरूकै हुँ भन्ने सन्देश दिनुभयो‚’ विश्लेषक दाहाल भन्छन्‚ ‘पहिलो कुरा, आश्वस्त पार्ने प्रयास गर्नुभयो र दोस्रो कुरा तिमीहरूकै क्षेत्रमा आएर म आफ्नो सम्पूर्ण प्रतिबद्धता व्यक्त गर्छु भन्ने सन्देश दिनुभयो ।’

विश्लेषक दाहालको शब्दमा कांग्रेसले ‍मधेश प्रदेशको जनकपुर पुगेर घोषणापत्रको माध्यमबाट मधेश र मधेसी समुदायलाई विश्वस्त पार्ने प्रयास गर्नु सरहानीय कदम भएको उल्लेख गर्छन् ।

आमसभाले बनाउँदै छ माहोल

केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्रीमा गगनकुमार थापालाई अघि बढाएर चुनावमा होमिएको कांग्रेसले माहोल बनाउन देशभर चुनावी सभालाई पनि तीव्रता दिएको छ ।

आइतबार मात्र सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले उपत्यकाका ६ जिल्लामा आमसभा गरे । यसअघि सभापति थापा र उपसभापति शर्माले पोखरा‚ बुटवल‚ सुर्खेत‚ इलाम‚ झापा‚ मोरङ, अछामलगायतका धेरै जिल्लामा आमसभा गरे ।

यी जिल्लाहरूमा भएका आमसभामा उनीहरूले आफ्नो एजेन्डा बुझाउने‚ भिजन १० बारे जानकारी दिने तथा कांग्रेसको नेतृत्वमा बन्ने सरकारले कसरी काम गर्छ भनेर बुझाउने काम गरिरहेका छन् । रास्वपाले जहाँ जहाँ गएर चुनावी सभा गरेको छ, त्यसलाई काउन्टर दिने काम पनि कांग्रेसले गरिरहेको छ ।

पार्टी सहमहामन्त्री बहादुरसिंह लामा आफ्नो निर्वाचन क्षेत्रबाट निस्किएर सभापति थापाले पार्टीलाई विजयी बनाउन लागि परेको बताउँछन् । ‘हामीले जनभावना सम्मान गरेका छौं । धेरै युवाहरूको आकर्षण बढेको छ भने पुराना मतदाताहरूमा भरोसा र विश्वास बढेको छ‚’ सहमहामन्त्री तामाङ भन्छन्‚ ‘विशेष महाधिवेशनबाट आएको डायनामिक नेतृत्वले समाजको मनोविज्ञान बुझ्न सक्छ भन्ने जनतामा परेको छ ।’

उम्मेदवारी फिर्ता लिएर धमाधम कांग्रेसलाई सहयोग

शनिबार निर्णय गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने निर्णय गर्‍यो।

प्रलोपा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई आबद्ध रहेको पार्टी हो । जिल्लामा भट्टराईको व्यक्तिगत मत समेत राम्रो रहेको र उनले जता इसारा गरे उतै राम्रो मत ट्रान्सफर हुने बताइन्छ।

आइतबार मात्र काठमाडौं निर्वाचन क्षेत्र ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसकी नेतृ नानु बास्तोलालाई सहयोग गर्ने सहमति बन्यो । यस्तै आइतबार नै रुपन्देही क्षेत्र नम्बर २ मा राप्रपाले कांग्रेसलाई भोट हाल्ने निर्णय गर्‍यो । शनिबार नै सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका गजेन्द्र मण्डलले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरे ।

अन्य दलबाट पार्टी प्रवेश गर्नेमात्र होइन, उम्मेदवारी फिर्ता लिँदै  आउने क्रम बढी नै रहेको छ । खुलेर मात्र होइन, भित्रभित्रै पनि साथ सहयोग गर्नेहरूको कमी नभएको बताउँछिन्- सहमहामन्त्री डिला संग्रौला ।

‘अब गगन सरकार बन्न कसैले रोक्न सक्दैन‚’ संग्रौला भन्छिन्‚ ‘अतिवादको अन्त्य गर्दै जेनजीको मुद्दालाई आत्मासाथ गरेर विकास र समृद्धि ल्याउने पार्टी कांग्रेस नै हो भनेर कांग्रेसमा प्रवेश गर्ने संख्या बढेको छ।’

रास्वपा छाडेका नेता प्रणय पनि ‘नेपालको संविधान ड्राफ्ट गर्ने समयदेखि आजको जटिल परिस्थितिसम्म आइपुग्दा अत्यन्त गम्भीर मोडमा पुगेको नेपालको अवस्थालाई हेर्दा परिपक्व नेतृत्वको आवश्यकता रहेको धारणा राख्छन् ।

‘अहिले गगनजी परिपक्व नेतृत्वका रूपमा देखिनुभएका पनि आमनेपालीमा नेपाली कांग्रेसप्रतिको विश्वास बढेको छ‚’ उनी भन्छन्‚ ‘आजका दिनमा कुनै पनि अन्तर्वार्ता नदिने, प्रश्नको सामना नगर्ने नेतृत्वहरूको बीचमा गगनजीले राष्ट्रिय सभाबाटै आम नागरिकसँग अनलाइन प्रश्नहरूको समेत उत्तर दिनुभयो । त्यो भनेको प्रधानमन्त्रीको उम्मेदवार हुन सक्ने नेताले सार्वजनिक रूपमा पब्लिकलाई फेस गरेर प्रस्तुत हुने अभ्यास हो ।’

विश्लेषकहरूको मत

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल मधेशमा गएर सभापति थापाले मधेश यात्राले तराई-मधेश समुदायको विश्वास जित्न सके त्यसले नेपाली कांग्रेसका अन्य उम्मेदवारहरूलाई पनि सकारात्मक प्रभाव पार्ने बताउँछन् ।

‘गगनजी स्वयंलाई पनि सहयोग पुग्छ र पार्टीले प्रस्तुत गरेका घोषणापत्र तथा संकल्पहरूमा यदि त्यहाँका मतदाताले पहिलो विश्वास प्रदान गरे भने त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्न सक्छ‚’ उनी भन्छन्‚ ‘त्यस अवस्थामा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयतर्फ उन्मुख हुन सक्छन् भन्ने आकलन गर्न सकिन्छ ।’

अर्का विश्लेषक जेनेन्द्र शर्मा जीवन चुनाव नजिकिँदै जाँदा पछिल्लो समय वातावरण धेरै हदसम्म परिवर्तन भएर कांग्रेसको पक्षमा माहोल बनेको धारणा राख्छन् । यस्तै, विगतको तुलनामा पहिलेभन्दा स्थिति कांग्रेसको अवस्था सुधारोन्मुख छ भन्ने अनुभूति आफूले पाएको बताउँछन् ।

‘पहिले कांग्रेसलाई भोट दिँदै आएका मतदातामध्ये निराशा बोकेका धेरैको गुनासो कम हुँदै गएको संकेत पाइन्छ । यही कारणले ठूलो क्षति हुनबाट जोगिएको आभास हुन्छ‚’ उनी भन्छन्‚ ‘यदि पुरानै अनुहार र पुरानै शैलीमा चुनावमा गएको भए परिस्थिति निकै प्रतिकूल हुन सक्थ्यो। अहिले भने परिस्थितिमा केही सन्तुलन पाइएको छ।’ लोकान्तरबाट

प्रतिक्रिया