अछाम। सरकारले डढेले नियन्त्रण सप्ताह मनाई रहँदा वनहरुमा भन डढेलो लगाउने काम रोकिएको छैन।
जिल्लाका अधिकांश वनहरुमा यतिबेला दनदनी आगो बलिरहेका दृश्यहरु देख्न पाइन्छ। वन मन्त्रालयले चैत १ गतेदेखि डढेलो नियन्त्रण सप्ताह मनाइरहँदा पनि स्थानीयले डढेलो लगाउन छोडेका छैनन्।
डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ । डढेलो लगाउँदा फाइदा भन्दा नोकसान नै धेरै हुने गरेको छ।
डिभिजन वन कार्यालय अछामका वन अधिकृत विमल चन्दले डढेलो लगाउँदा नयाँ बिरुवा उम्रिन नपाउने, जंगली जनावर मर्ने, मानिसको पनि ज्यान जान सक्ने, वातावरण प्रदुषण हुने गरेको बताउनुभयो।
सप्ताहका क्रममा कर्मचारीहरु खटाएर नेपाल प्रहरी र वनका उपभोक्ताहरुको सहभागितामा जनचेतनामुलक कार्यक्रम संचालन भइरहेको उहाँले जानकारी दिनुभयो। चन्दले जताततै डढेलो लागेको देखिए पनि जिल्लाभरमा कति वन क्षेत्रमा डढेलो लागेको छ भन्ने एकिन तथ्यांक आइनसकेको बताउनु भयो।
सवै तस्बीरहरु चौरपाटी गाउँपालिका-१ सिउँडीका हुँन।
वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा आगजनी गरेमा त्यसबाट भएको सम्पूर्ण क्षतिको विगो असुल गर्नुका साथै ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।