गर्मीयामसँगै आगलागीको जोखिम बढेको छ । विशेषगरी आगोको संवेदनशीलता बुझ्न नसक्दा यस्तो जोखिम हुन्छ । शहरी क्षेत्रमा विद्युत् सर्ट सर्किट, धूप वा दियो बालेर रातभर छोड्दा पल्टिएर, ग्यास लिक भई विस्फोट हुनुजस्ता कारणले आगलागी हुने गरेको छ । ग्रामीण क्षेत्रमा चुलो बाल्दा, गाईबस्तुलाई कुँढो पकाउँदा बलेको आगो छोडेर हिँड्दा, आगो ताप्दा वा बाहिरी झिल्का परेर पनि आगलागीका घटना हुने गर्छ ।
विशेष गरी ग्रामीण क्षेत्रमा खर वा फुसको छानो भएका घरहरूमा आगलागीका घटना बढी हुने गर्छन् । चैत, वैशाख र जेठ महिनामा हावाहुरीका कारण आगो तीव्र रूपमा फैलन सक्ने हुँदा ठूलो विनाश निम्त्याउन सक्छ । सुख्खा हावा र वायुमण्डलीय अवस्थाका कारण आगो झन् छिटो फैलिने सम्भावना उच्च हुन्छ । पछिल्लो वर्ष नेपालमा घरायसी आगलागीका घटना बढेको छ ।
घरायसी आगलागीका मुख्य कारणहरू:
घरायसी आगलागीका विभिन्न कारणहरू छन्, जसमा प्रमुख रूपमा मानवीय लापरवाही र असावधानी प्रमुख कारक हुन् । विद्युत् सर्किट र उपकरणसम्बन्धी समस्याहरू, जस्तै पुराना वा बिग्रिएका विद्युतीय उपकरण, सर्ट सर्किट, तथा ओभरलोडका कारण आगलागी हुन सक्छ । ग्यास सिलिन्डरको लिक तथा चुलोको असावधानीपूर्वक प्रयोगले पनि आगलागीको जोखिम बढाउँछ । ग्यास लिक भएको थाहा नपाउनु वा ग्यास चुलो प्रयोग गर्दा लापरवाही गर्नाले आगो लाग्ने सम्भावना उच्च हुन्छ ।
चुरोटको ठुटा ननिभाई फ्याँक्दा वा प्रज्वलनशील वस्तुहरूका नजिक राख्दा आगलागी हुन सक्छ । त्यसैगरी मट्टितेल, रङ, पेट्रोलजस्ता प्रज्वलनशील बस्तुको असावधानीपूर्वक प्रयोगले पनि आगलागीको सम्भावना बढाउँछ । भान्सामा खाना पकाउने क्रममा आगो नियन्त्रणमा नहुनु वा कपडामा आगो सल्किनु अर्को जोखिम हो । यस्तै, आगो बाल्दा आवश्यक सुरक्षा उपायहरू नअपनाउनु मानवीय लापरवाहीका कारणमध्ये एक हो ।
घरायसी आगलागीबाट कसरी जोगिने ?
घरायसी आगलागीबाट जोगिनका लागि सावधानी अपनाउनु आवश्यक छ । सबैभन्दा पहिला घरका सबै विद्युत् उपकरण र तारहरूको नियमित जाँच तथा मर्मत गर्नुपर्छ । यसका लागि दक्ष प्राविधिकको सहयोग लिनुपर्छ । पुराना तार तथा उपकरणलाई मर्मत गरी सुरक्षित रूपमा प्रयोग गर्नुपर्छ, साथै ओभरलोड हुन नदिन विशेष ध्यान दिनु आवश्यक छ ।
ग्यास सिलिन्डर र चुलोको प्रयोगमा अत्यधिक सावधानी अपनाउनु पर्छ । ग्यास सिलिन्डरको लिक नियमित रूपमा जाँच गर्नुपर्ने हुन्छ भने चुलो बाल्दा सधैं सावधानी अपनाउनु आवश्यक छ । ग्यास प्रयोग गरेपछि रेगुलेटर अनिवार्य रूपमा बन्द गर्नुपर्छ । हरेक वर्ष ग्यास पाइप फेर्नुका साथै मान्यता प्राप्त रेगुलेटर, ग्यास पाइप, र सिलिन्डरको म्याद जाँच गरेर मात्र खरिद गर्नुपर्छ । साथै, चुलो बाल्दा नजिकै कुनै प्रज्वलनशील वस्तु राख्न हुँदैन ।
सकेसम्म चुरोट नपिउनु नै राम्रो हुन्छ । यदि चुरोट पिउने व्यक्तिहरूले ठुटा निभाएर मात्र सुरक्षित ठाउँमा फ्याँक्नुपर्छ। साथै, घरभित्र वा वरपर बसेर चुरोट पिउनु आगलागीको जोखिम निम्त्याउने भएकाले यस्तो गर्नुहुँदैन ।
मट्टीतेल, पेट्रोल, रङ जस्ता प्रज्वलनशील पदार्थहरूको सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्छ । यी पदार्थहरूको प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउनुका साथै केटाकेटीले नभेट्ने ठाउँमा राख्नु पर्छ । अन्यथा, यस्ता वस्तुहरूको असावधानीपूर्ण प्रयोगले दुर्घटना निम्त्याउन सक्छ । खाना पकाउने क्रममा पनि विशेष ध्यान दिनु आवश्यक छ ।
घरमा आगलागी भएमा के गर्ने ?
आगलागीको अवस्थामा पहिलो कुरा शान्त र सजग रहनु आवश्यक छ । डराउनु वा हताश हुनुको सट्टा स्थिति मूल्याङ्कन गरी तुरुन्तै उपयुक्त उपायहरू अपनाउनुपर्छ ।
आगो लागेको सङ्केत देख्नेबित्तिकै सबै घरका सदस्यहरूलाई सावधान गराउने र तुरुन्तै दमकल सेवामा खबर गर्ने ।
आगो लागेको थाहा पाएपछि सकेसम्म छिटो सुरक्षित ठाउँमा निस्किने, बाहिर निस्कनुअघि ग्यास तथा विद्युत् आपूर्ति बन्द गर्ने ।
आगो कहाँबाट शुरु भएको हो, त्यसको पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ । यदि आगो चुलो वा ग्यास सिलिन्डरबाट लागेको छ भने तुरुन्तै ग्यास आपूर्ति बन्द गर्नुपर्छ । यदि विद्युत् सर्किटबाट आगलागी भएको हो भने बिजुलीको आपूर्ति तुरुन्तै बन्द गर्नुपर्छ ।
यदि आगो सानो छ भने आगो निभाउने उपकरण (फायर एक्सटिङ्ग्विशर) प्रयोग गर्नुपर्छ । यस्ता उपकरण नभए पानी प्रयोग गर्न सकिन्छ, तर ग्यास वा विद्युत् स्रोतबाट लागेको आगोमा पानी प्रयोग गर्नु हुँदैन । यदि आगो नियन्त्रण गर्न सक्ने अवस्थामा छैन भने तुरुन्तै सुरक्षित ठाउँमा जाने र परिवारका सबै सदस्यहरूलाई सतर्क गराउने ।
आगलागी हुँदा धुवाँ अत्यधिक फैलिन सक्छ, जसले श्वासप्रश्वासमा समस्या ल्याउने भएकाले धुवाँबाट बच्न आवश्यक छ । त्यसका लागि भिजेको कपडाले नाक र मुख छोप्नु उचित हुन्छ, जसले जलनबाट पनि सुरक्षा प्रदान गर्छ ।
आगलागीबाट सुरक्षित रहनका लागि घरमा आगो निभाउने उपकरण जस्तै फायर एक्सटिङ्ग्विशर, बाल्टिन र अग्नि सुरक्षा किट राख्नुपर्छ । साथै, घरको हरेक भागमा आपतकालीन निकासी योजना बनाउनु र सबै परिवार सदस्यलाई त्यसको जानकारी दिनु महत्त्वपूर्ण छ । र सधैं सचेत रहनु पर्छ ।