काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डूले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रन बनायो ।
काठमाण्डूका लागि कप्तान करण केसीले कमालको प्रदर्शन गरे । नवौं नम्बरमा क्रिज सम्हाल्न आएका करणले आक्रामक पाली खेल्दै अविजित ३४ रनको योगदान गरे ।
करणले केवल ११ बलमा चार छक्का र एक चौका प्रहार गरे । करणले रुवेन ट्रम्पलम्यानको एउटै ओभरमा ३१ रन लिएका थिए । १९ औं ओभरमा उनले चारवटा छक्का प्रहार गरे ।
ओपनर ब्याट्सम्यान आकाश त्रिपाठीले पनि टोलीका लागि ३२ रनको योगदान गरे । उनले ३६ बलमा तीन चौका पनि प्रहार गरे ।
सन्तोष यादवले टोलीको खातामा २६ रन थपे । उनले केवल १६ बलमा दुई छक्का प्रहार गरे । जेरहार्ड एरास्मसले १५ बलमा दुई चौकाको मद्दतले १७ रन जोडे ।
मिलिन्द कुमारले पनि २० बलमा एक चौकाको मद्दतले १७ रन बनाए । रासिद खान १० बलमा दुई चौकाको मद्दतले १४ रन बनाउँदै पेभेलियन फर्किए ।
लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुलबदिन नाइबले दुई–दुई विकेट लिए।