काठमाडौं। सरकारले इन्धनमा लाग्दै आएको कर घटाउने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
हाल पेट्रोलको आयातमा प्रतिलिटर करिब २५.२० रुपैयाँ र डिजेलमा प्रतिलिटर १२ रुपैयाँ भन्सार महसुल लाग्दै आएको छ ।
यी दुवैमा ५० प्रतिशत महसुल घटाउने हो भने पेट्रोलमा १२ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ छुट हुने भएको छ । त्यसै गरी, मट्टितेलको आयातमा पनि हाल प्रतिलिटर १२ रुपैयाँ भन्सार लाग्दै आएकोमा अब भने ६ रुपैयाँ मात्रै लाग्नेछ ।
पूर्वाधार विकास कर
पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ पूर्वाधार कर लाग्दै आएको छ । पूर्वाधार करमा ५० प्रतिशत दिँदा ५/५ रुपैयाँ मात्रै कर लाग्नेछ । मट्टितेलमा भने यो कर छुट हुँदैन । किनभने पूर्वाधार विकास कर मट्टितेलमा लागू गरिएको छैन ।
सरकारको निर्णयअनुसार अब पेट्रोलको आयातमा प्रतिलिटर १७ रुपैयाँ र डिजेलमा प्रतिलिटर ११ रुपैयाँ कर छुट हुने देखिन्छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ कर छुट हुने देखिन्छ ।
तर, यो आधिकारिक रूपमा नेपाल आयल निगमले निर्णय गरेपछि मात्रै लागू हुनेछ ।
सरकारको ५० प्रतिशत छुटले आयल निगमको घाटालाई केही मात्रै कम गर्ने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।
कति मूल्य घट्छ भनेर अहिले नै भन्न नमिल्ने उनको भनाइ छ । ‘आयल निगम १५ दिनमा ११ अर्ब ७१ करोड घाटामा छ । ५० प्रतिशत छुटले घाटा केही कम गर्न सक्छ होला, मूल्य घट्छ कि बढ्छ भन्न मिल्दैन,' उनले भने, ‘अहिले पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँ घाटा भइरहेको छ ।’