धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवालले बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्न थालेको १५ मात्रै भएको थियो। उनी त्यहाँ वेटरका रुपमा काम गर्थिन् ।
सोही सेकुवा एण्ड मःम सेन्टरमा बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउद कुकको काम गर्दै आएका थिए। त्यहाँ उनीहरु नजिक भएका थिए। दुई सन्तानका बुवा समेत रहेका निरजको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको थियो। छोटो समयमै उनीहरु प्रेम सम्बन्धमा बाँधिइसकेका थिए ।
प्रहरीकाअनुसार श्रीमतीले सम्बन्धविच्छेद भएकै कारण साउदले सेजुवालसँग सम्बन्ध अघि बढाएको बताएका छन्। उनले विवाह गरेर बाँकी जीवन उनैसँग बिताउने प्रण गरिसकेका थिए । याचना वेटर मात्र नभएर पछिल्लो समय भान्छामा साउदको सहयोगी कर्मचारीका रुपमा काम गर्न थालिसकेकी थिइन् ।
भेट भएको १५ दिनमै प्रेम सम्बन्धमा बाँधिएका सेजुवाल र साउद शनिबार पनि सदाजस्तै भान्छाकोठामा काम गर्दै थिए । काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकैबीच निरजले याचनाको घाँटीमा चक्कु प्रहार गरे। त्यतिबेला उनीहरु दुई जना मात्र सेकुवा सेन्टरको भान्छा कोठामा रहेको खुलेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले प्रारम्भिक अनुसन्धानबाट साउदले आपसी विवादका क्रममा सेजुवालमाथि चक्कु प्रहार गरेको खुलेको बताए । चक्कु प्रहारबाट गम्भीर सेजुवाल सेकुवा सेन्टरको भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका होटल सञ्चालकले थाहा पाएका थिए ।
‘दुई जनाबीच सेकुवा सेन्टरमै चिनजान भएदेखि प्रेम सम्बन्धमा रहेछ । शनिबार बिहान भान्छा कोठामा काम गर्ने बेला उनीहरुबीच विवाद भएको देखिन्छ,’ डीएसपी सिंहले भने, ‘विवादबीच साउदले सेजुवालमाथि चक्कु प्रहार गरेछन् । किशोरी भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका सञ्चालकले थाहा पाएछन् । उनलाई तत्कालै अस्पताल लगिए पनि बचाउन सकिएन ।’
गम्भीर अवस्थामा उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएकी सेजुवालको त्यही मृत्यु भएको थियो । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेका साउदले सेजुवालसँग विवाह गर्ने समझदारी भइसकेको दाबी गरेका छन् ।
साउदले आफूसँग विवाह गर्ने वाचा गरेकी सेजुवालले अरुसँग पनि फोनमा कुराकानी गर्ने गरेको थाहा पाएपछि आवेशमा आएर चक्कु प्रहार गरेर हत्या गरेको बयान दिएका छन् । ‘म सँग प्रेम र विवाह गर्छु भनिसकेपछि पनि याचनाले अरु केटासँग पनि फोन र भिडियो कलमा कुरा गरिरहन्थिन् । अरुलाई किन कल गछौँ भनेर भन्दा विवाद भयो,’ साउदले प्रहरीलाई भनेका छन्, ‘रिसको झोकमा सहन नसकेर नजिकै रहेको चक्कु समातेर हिर्काउन पुगेछु । अहिले गल्ती गरेको अनुभूती भइरहेको छ ।’
साउदलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको छ भने मृतक सेजुवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।