काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले तेस्रो जित हासिल गरेको छ ।
काठमान्डुले शुक्रबार सम्पन्न खेलमा चितवन राइनोजलाई ५३ रनले हरायो।
जितसँगै काठमान्डु ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँचौँ खेल खेलेको काठमान्डुले तीन जित र दुई हारको नतिजा निकालेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमान्डुले १९.४ ओभरमा अलआउट हुँदै एक सय ४२ रन बनाएको थियो ।
मध्यम विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १७.२ ओभरमै अलआउट हुनुअघि ८९ रनमात्र बनाउन सक्यो ।
चितवनका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । यसको विपरीत, चितवनलाई लक्ष्यसम्म पुग्न नदिन काठमान्डुका बलरहरूले अब्बल प्रदर्शन गरे ।
रासिद खानले तीन विकेट लिए । उनले १.२ ओभरमा केवल तीन रन खर्चिए । साहब आलम, मिलिन्द कुमार र करण केसीले पनि दुई–दुई विकेट हात पारे । सन्तोष यादवले एक विकेट लिए।
चितवनका लागि देव खनालले १८ बलमा एक छक्क र दुई चौकाको मद्दतले २१ रन बनाए । प्रभावशाली ब्याट्सम्यान रवी बोपरा २३ बलमा एक छक्का र एक चौकाको मद्दतले २१ रन बनाउँदै आउट भए ।
तल्लोक्रमका ब्याट्सम्यान सोहेल तनवीर १७ बलमा एक छक्का र एक चौकाको मद्दतले १८ रन बनाउँदै पेभेलियन फर्किए । चितवनका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसअघि, काठमान्डुका लागि जोन सिम्पसनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । पाँचौं नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान सिम्पसनले आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए ।
सिम्पसनले केवल २९ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे । उनले केवल २५ बलमा चार छक्का र तीन चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका थिए ।
सिम्पसनको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको १५औं अर्धशतक हो । उनी जारी सिजनको एनपीएलमा अर्धशतक बनाउने १२औं ब्याट्सम्यान पनि हुन् ।
काठमान्डुले केवल २४ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो । त्यसपछि सिम्पसन र मिलिन्द कुमारले टोलीको स्कोरलाई एक सय २२ रनको बलियो स्थितिसम्म डोर्याए ।
सिम्पसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका मिलिन्द कुमार ३८ रन बनाउँदै आउट भए । उनले ४३ बलमा पाँच चौका प्रहार गरे ।
ओपनर ब्याट्सम्यान बेन चार्ल्सवर्थ १३ रन बनाउँदै आउट भए । अर्का ओपनर आकाश त्रिपाठी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका रासिद खान पनि ६ रनमै पेभेलियन फर्किए । मोहम्मद आदिल आलम पाँच बलमा एक चौकाको मद्दतले केवल आठ रन बनाउँदै आउट भए ।
चितवनका बलर सोहेल तनवीर एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल २५ रन खर्चिए । रंजित कुमार र कमल ऐरीले दुई–दुई विकेट हात पारे । रवि बोपराले एक विकेट लिए ।