काठमाडौं । ललितपुरको नख्खु कारागारका जेलर सत्यराम जोशीले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट छाड्नका लागि एक अज्ञात पत्रमा आफूलाई हस्ताक्षर गर्न बाध्य बनाइएको बताएका छन् ।
प्रतिवेदनको फोटोकपीमा जोशीले दिएको बयान अनुसार, भीडले आक्रोशित हुँदै आफूलाई उक्त पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको उल्लेख गरेका छन् ।
दिउँसो करिब १३:४० बजे हजारौंको संख्यामा प्रदर्शनकारीहरूले “रवि लामिछानेलाई छोड” भन्ने नारासहित कारागारको मुख्य गेटमा ढुंगामुढा र तोडफोड गर्दै आक्रमण सुरु गरे । भीडको अवस्था नियन्त्रणबाहिर जाँदै गएको देखेपछि मैले पुन: प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयलाई सेना परिचालन गर्न लिखित तथा मौखिक अनुरोध गरेँ, तर तत्काल थप सुरक्षा बल उपलब्ध हुन सकेन । करिब १३:५० बजे भीडले मुख्य गेट तोड्दै जबर्जस्ती प्रवेश गरी कारागार आफ्नो नियन्त्रणमा लियो ।
त्यस समयमा कारागारमा १२८१ जना कैदीबन्दीहरू थिए । भीडले रवि लामिछानेलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि अन्य कैदीहरूको सुरक्षालाई ध्यानमा राख्दै मैले उहाँलाई अस्थायी रूपमा कारागारभित्रकै मनोसामाजिक अपाङ्ग वन्दी अस्पतालमा सार्ने निर्णय गरें । पछि उहाँले “भीडलाई सम्झाउने प्रयास गर्छु” भन्दै माइक माग्नुभयो। त्यसपछि सुरक्षाकर्मीहरूले उहाँलाई भीड समक्ष पठाए, तर भीडले उहाँलाई कारागारबाट बाहिर लग्यो । उक्त घटनाबारे मैले तुरुन्तै गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएँ ।
उहाँलाई बाहिर लगिएपछि भीड झन् आक्रोशित भयो । कारागार प्रशासनको अभिलेख कोठा र प्रहरी भवनमा आगजनी गरियो र प्रहरी तथा सशस्त्र प्रहरी दुवै पछाडि हट्न बाध्य भए । म र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग वन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौँ। सो क्रममा भीडले मलाई अत्यधिक डरधम्की दिई जीवन–मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो । पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्व जानकारी थिएन । उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन ।