काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।
आयोगले यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो । जसमा कूल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका थिए ।
प्राप्त बन्दसूचीका सम्बन्धमा पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन आयोगमा दलहरुले बुझाएको बन्दसूचीलाई लिएर व्यापक प्रश्न उठेको छ । समानुपातिक सिद्धान्तको मर्मलाई कुल्चेर सूचीमा पहुँचवाला र भाइरललाई स्थान दिइएको भन्दै आलोचना भएको हो । यसमा नयाँ भनिएका रास्वपासहितका दल समेत मुछिएका छन् ।
उनीहरूले बुझाएको बन्दसूची हेर्दा यस्तो लाग्छ– समानुपातिक प्रणाली उत्पीडित र सीमान्तकृतका लागि होइन, प्रत्यक्ष चुनावमा जनताबाट पटक–पटक तिरस्कृत र पराजित नेताहरूको ‘सुरक्षित अवतरण’ गर्ने थलो हो ।
मुख्य दलहरूले बुझाएको सूचीमा प्रत्यक्ष चुनावमा पराजयको ‘ह्याट्रिक’ गरिसकेका पुराना अनुहारदेखि भर्खरै सम्पन्न उपनिर्वाचनमा जमानत समेत जोगाउन नसकेका ‘नयाँ’ पात्रहरूले समेत स्थान पाएका छन् ।
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएको छ ।
कांग्रेसले ११० जनाको नाम समेटेर गएराति आयोगमा बन्दसूची बुझाएको थियो ।
कांग्रेसको बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे, नेता अर्जुननरसिंह केसीदेखि भीमसेनदास प्रधानसम्मका केही पुराना नेता समेटिँदा अधिकांश नयाँ अनुहारले मौका पाएका छन् ।
सूचीमा पूर्वराष्ट्रपति रामवरण यादवपुत्र चन्द्रमोहन यादव तथा नेताहरू उर्मिला थपलिया, सीतादेवी देवकोटा, उषा राउत लगायतको नाम समेटिएको छ ।
यसैगरी राप्रपाले समानुपातिकतर्फ ११० जनाकै सूची बुझाएको छ । राप्रपाको बन्द सूचीमा खुस्बु ओलीसम्म अटाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फको उमेदवारको बन्दसूची बुझाएको छ । नेकपाले खस आर्यबाट ३२ जना, आदिवासी जनजातिबाट ३३, मधेसीबाट १८, दलितबाट १५, मुस्लिमबाट पाँच र थारुबाट सातजनाको नाम सूचीमा राखेको छ ।
यसैगरी एमालेको समानुपातिक बन्दसूचीमा पनि प्रश्न उठाइएको छ । बन्दसूचीमा पूर्वमन्त्रीदेखि नेताका श्रीमतीसम्मलाई समेटिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । रास्वपाले एकता प्रक्रियामा आएको बालेन शाह समूह र कुलमान घिसिङ नेतृत्वको समूहलाई मिलाएर एकीकृत सूची बुझाएको हो । समानुपातिकमा रास्वपाले भाइरल र सेलिब्रेटीलाई प्राथमिकता दिँदै समानुपातिक सिद्धान्त भने भुलेको छ ।
सामाजिक अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै समानुपातिक प्रणालीको मर्ममाथि प्रश्न उठाएकी छन्।
तामाङले लेखेकी छन्, “मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन्। तर त्यस्तो त होइन रहेछ।” उनले निमुखा वर्ग र जातिका लागि छुट्याइएका कोटामा पहुँच र शक्ति भएकाहरूले अवसर पाएको आरोप लगाएकी छन्। उनको टिप्पणीमा मिस नेपालजस्ता पहिचान बनाइसकेका व्यक्ति, ठेकेदारका छोरा, आसेपासे, छिमेकी र सानैमा स्कुल पढेका साथीसमेत सांसद र मन्त्री बन्ने अवसर पाउने अवस्था आएको उल्लेख छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई आफ्नो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत नेता केसीलाई आफ्नो चाहनाविपरीत समानुपातिक सूचीमा राखिएको उनले स्पष्ट पारेका छन् ।
नेकपा एमालेका नेता तथा पूर्व सांसद वासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
घिमिरेले आम जनताको चाहना अहिले सुशासन, विकास र समृद्धिसँगै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण पनि भएको उल्लेख गरेका छन्।
काठमाडौँको तापक्रम मंगलबार यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ ।
यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम मापन भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा के लडौं भन्दै सल्लाह माग्न आउनेलाई आफू सुझाव दिन तयार भएको बताएका छन्।
वैकल्पिक भनिएका दलहरु मिल्दा पुराना दल नेपाली कांग्रेस, नेकपा एमालेलगायत दबाबमा परेका छन् । यतिसम्मकी कांग्रेस र एमालेबीच गठबन्धन हुनसक्ने चर्चा समेत हुन थालेको छ ।
यही मेसोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने बताएका छन् ।
मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा मंगलबार आयोजित ‘नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पद जसजसले सहमति गरेर बाँडे पनि एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने बताएका हुन् ।
‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ । प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर निर्णय देख्दा हास्यास्पद लाग्यो’, ओलीले भने, ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री भनिएको छ । यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो । जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।’
नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पुराना पार्टी सिद्धिए अब नयाँहरू उदाउँछन् भन्ने शहरिया होहल्लामा सत्यता नभएको बताएका छन् ।
उनले गाउँगाउँमा स्थापित दलहरूप्रति नै आमजनताको भरोसा रहेको दाबी गरे ।
रूकुमबाट काठमाडौंसम्म पैदल यात्रा गरेका नेकपा युवा नेता केशव रावलको यात्रा समापनका लागि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालबाट उदाएकाहरूले देशको नेतृत्व गर्न नसक्ने बताएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् ।
उनले जतिसुकै मतभेद भए पनि एक–आपसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको बताइन् ।