अछाम। अछामको मेल्लेख गाउँपालिका-५, विन्धेवासिनीमा पहिलोपटक कराँते कक्षा संचालन हुने भएको छ।
राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालको आयोजनामा सोमबार मेल्लेखमा कराँते कक्षाको उद्गाटन गरिएको हो।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउँदले खेलकुद युवाको क्षमता अभिवृद्धि गर्ने मात्र नभई स्वास्थ्य र सामाजिक सद्भावलाई पनि सुदृढ बनाउने महत्वपूर्ण माध्यम भएको बताए। उनले मेल्लेखका किशोर, किशोरीले कराँते जस्तो आत्मरक्षा खेलमा सहभागिता जनाउनुले भविष्यमा गाउँपालिकाको खेलकुद क्षेत्रको स्तर वृद्धि हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सामाजिक विकास सयाेजक एवं वडा नम्वर ४ का वडाअध्यक्ष चन्द्र बहादुर साउँदले कराँते खेलकाे महत्त्व दर्साउदै आगामी दिनमा पालिकाका सवै विद्यालयमा कराँते कक्षा संचालन गर्दै लैजानुपर्ने बताए।
वडा नं. ५ का वडाअध्यक्ष प्रकाश बहादुर अधिकारीले
यस कक्षाबाट स्थानीय किशोर किशोरी तथा युवाहरुलाई कराँते प्रशिक्षण दिइने र यसले शारीरिक तन्दुरुस्ती, आत्मरक्षा सीप तथा खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने बताए।
प्रशिक्षक बीएस वडले कराँते प्रशिक्षणले किशोर किशोरीलाई अनुशासित, आत्मविश्वासी र समाजमा नेतृत्वदायी भूमिकामा स्थापित गर्न सहयोग गर्ने बताए।
कार्यक्रम संघका अध्यक्ष मीनबहादुर महरको अध्यक्षतामा सम्पन्न भएको छ।
६ असोज २०८२, सोमबार १२:३४ मा प्रकाशित