धामी झाँक्री र विद्यार्थीलाई महिनावारी सचेतना कक्षा

khaptadpress.com

अछाम। अछामको मेल्लेख गाउँपालिकाले महिनावारी विभेद गर्नेहरुकालागि सचेतना अभियान सुरु गरेको छ।

गाउँपालिकाले महिनावारी विभेद गर्नेहरुका लागि वडास्तरमा गएर सचेतना कक्षा संचालन गर्ने अभियानको थालनी गरेको हो। अभियान अन्तर्गत धामी झाँक्री, महिनावारी विभेदमा अग्रसर स्थानीय बृद्धबृद्धालगायत विधार्थीका लागि सचेतना कक्षा संचालन गरिरहेको छ।

पहिलो दिन शुक्रबार वडा नम्बर ४ कुष्कोटका धामी, झाँक्री, पुरोहित, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयम् सेविका तथा बाशुकी माविमा अध्ययनरत विद्यार्थीका लागि सचेतना कक्षा संचालन गरिएको छ।


फरक-फरक समयमा उनीहरुलाई महिनावारी हुने प्रक्रिया, महिनावारी विभेदले निम्त्याउने समस्या, अछामको अवस्था, कानुनी प्रावधानलगायतका विषयमा सहजिकरण गरिएको थियो। बाशुकी माविमा आयोजित कार्यक्रममा छात्राहरुले महिनावारी विभेद सहेर नबस्ने तथा यसबारेमा सबैलाई सचेतनासमेत फैलाउने प्रतिवद्धता जनाए।

दुबै कार्यक्रमको सहजिकरण मंगलासैनी मिडिया प्रा. लिंका संचालक शिवराज खत्रीले गरेका थिए।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल शाहले महिनावारी हुँदा घरमै बस्न तथा कसैले विभेद गरे त्यसको प्रतिकार गर्न विद्यार्थीलाई सुझाव दिए।

यस्तै वडा कार्यालयमा आयोजित सचेतना कक्षामा कसैले आफ्नो घरमा महिनावारी हुने मान्छे घरमै सुरक्षित बस्ने गरेको बताए। कसैले घरमा बस्दा देवि देउता रिसाउने डर भएको बताए।

सो अवसरमा करिव तीन दशक अघिदेखि महिनावारी हुँदा पनि सुरक्षित रुपमा  घरमै बस्ने पूर्व महिला सवास्थ्य स्वयमसेविका सरुदेवि साउँदलाई वडा अध्यक्ष चन्द्र बहादुर साउँदले खादा लगाएर सम्मान गरे। कार्यक्रममा पुजारी रनबहादुर साउँदले देवि देउताले पनि महिनावारी भएको महिलालाई विभेद गर्न नलगाउने बताए।


सो अवसरमा वडासदस्यहरु मन्सरादेवि साउँद, शालिभान साउँद र शंकर साउँदले आफूहरुको घरमा महिनाबारी हुँदा महिलाहरु सुरक्षित रुपमा घरमै बस्ने गरेको र अहिलेसम्म कुनै दोष नलागेको बताए।


कार्यक्रममा वडाअध्यक्ष साउँदले महिनावारी विभेद गर्नेलाई सरकारले कडा कानुनी कारवाही गर्ने नीति लिएकाले कसैले पनि विभेद नगर्न सुझाब दिए। महिनावारी हुँदा गोठमा बस्ने र बसाल्नेलाई सरकारले प्रदान गर्ने सबै सुविधाहरु बन्द गर्नेसमेत उनले बताए।

प्रतिक्रिया