आज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको केन्द्रीय समिति बैठकमा आफूहरू सहभागी नहुने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।
विशेष महाधिवेशनको बन्द सत्रमा कार्यविधि नै पारित भइसकेको अवस्था रहेको र आज पनि बन्द सत्र चल्ने भएकोले आफूहरू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने उनको भनाइ छ।
'विशेष महाधिवेशनको बन्द सत्रमा अहिलेको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव भएको छ, ती प्रस्तावमाथि बन्द सत्रमा आज पनि छलफल हुन्छ, त्यसैले हामी केन्द्रीय समिति बैठकमा सहभागी हुँदैनौं,´ उनले भने।
सभापति शेरबहादुर देउवाको निवासमा हिजो कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरुले कुराकानी गरेपछि आजका लागि केन्द्रीय समिति बैठक बोलाएका थिए।
यस अघि केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेका निर्णयहरू अनुमोदन गर्न र समसामयिक विषय तथा पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको संस्थापन पक्षका नेताहरूको भनाइ छ।
सभापति देउवापक्ष विशेष महाधिवेशनमा सहभागी छैनन्।
विशेष महाधिवेशन पक्षधरले पनि छलफलका लागि चार जना नेतालाई जिम्मेवारी दिएका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच छलफल गर्ने तयारी छ।