काठमाडाैं। आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट आजदेखि ओमानमा शुरू हुँदै छ ।
आफूभन्दा निकै बलियो टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेर हौसिएको नेपाली क्रिकेट टोलीले आजै कुवेतको सामना गर्नेछ । नेपालले दोस्रो खेलमा शुक्रबार जापानको सामना गर्नेछ । नेपाललाई प्रतियोगिताको दाबेदारमा हेरिएको छ ।
विश्वकपमा स्थान बनाउन आतुर नौवटै टोलीका लागि यो अन्तिम खुड्किलो हो । आगामी विश्वकपमा स्थान सुरक्षित गर्न नेपालले पनि यही खुड्किलो पार गर्नुपर्ने हुन्छ । ९ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष ३ टोलीले फेब्रुअरी–मार्चमा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ । विश्वकप भारत र श्रीलंकामा आयोजना हुनेछ ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त जापान र कुवेत छन् । तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । समूह ‘ए’ मा मलेसिया, कतार यूएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोओ छन् ।
समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ चरणमा प्रत्येक टोलीले चार–चार खेल खेल्नेछन् । एउटै समूहबाट आएका दुई टोलीबीच भने ‘सुपर–६’ चरणमा भिडन्त हुनेछैन ।
त्यसपछि ‘सुपर–६’ चरणको अंक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने तीनवटा टोली सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुनेछन् । तालिकाको चौथोदेखि छैटौं स्थानसम्म आउने टोलीको भने विश्वकप खेल्ने सपना समाप्त हुनेछ ।
अन्तिम चरणको विश्वकप छनोटमा सहभागी नौ टोलीमध्ये अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा यूएई सबैभन्दा अगाडि छ । आईसीसी वरीयतामा यूएई १५ औं स्थानमा रहेको छ ।
यसैगरी, नेपाल वरीयताको दोस्रो स्थानमा आसिन छ । पछिल्लो वरीयतामा नेपाल १८ औं स्थानमा छ । आयोजक ओमान २० औं वरीयतामा छ । पीएनजी २१ औं वरीयता र कुवेत २३ औं वरीयतामा छन् ।
यसैगरी, मलेसिया २५ औं वरीयतामा आसिन छ । कतार भने पछिल्लो आईसीसी टी–२० वरीयताको ३० औं स्थानमा छ । जापान भने ४४ औं वरीयतामा छ । सामोआ ६९औं वरीयतामा छ ।
अन्तिम चरणको विश्वकप छनोटका लागि नेपाली टोलीले गतिलो तयारी पनि गरेको छ । यही छनोट प्रतियोगिताको तयारी स्वरूप नेपाली टोलीले लामो समयदेखि एकपछि अर्को अभ्यास खेल पनि खेल्दै आएको छ ।
विश्वकप तयारीकै क्रममा नेपाली टोलीले अस्ट्रेलियाको भ्रमणसमेत गरेको थियो । अस्ट्रेलिया भ्रमणका क्रममा बलिया टोलीसँग ‘टप इन्ड सिरिज’मा सहभागिता जनाएको थियो । त्यसपछि नेपाली टोलीले अस्ट्रेलियाका प्रान्तीय टोलीसँग पनि अभ्यास खेल खेलेको थियो ।
तर, नेपाली टोलीका लागि हालै संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलिएको वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखला सबैभन्दा विशेष रह्यो । नेपाली टोलीले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध खेलेको यो पहिलो द्विपक्षीय शृंखला थियो ।
तीन खेलको शृंखलामा आफूभन्दा बलियो क्यारेबियन टोलीलाई २–१ ले हराएउँदै इतिहास रचेपछि विश्वकप छनोटअघि नेपाली खेलाडीको मनोबल निकै उच्च बनेको छ । पक्कै पनि यसले नेपाली खेलाडीलाई विश्वकप छनोटमा अब्बल प्रदर्शन गर्न सहयोग पुर्याउने छ ।
शृंखलाको पहिलो खेलमा नेपालीले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो । नेपाली टोलीले आईसीसीको पूर्णकालीन सदस्यलाई हराएको यो पहिलो पटक हो । वेस्ट इन्डिज त्यही राष्ट्र हो, जसले कुनै समय अन्तर्राष्ट्रिय क्रिकेटमा तहल्का मच्चाएको थियो ।
सर गरफिल्ड सोबर्स, सर भिभियन रिचर्डस, ब्रायन लारा, कर्टनी वाल्स, माल्कम मार्सल, शिवनारिन चन्द्रपाउल, क्रिस गेलजस्ता महान खेलाडीको विरासत बोकेको क्यारेबियन टोलीलाई हराउनु नेपाली क्रिकेटका लागि आफैंमा गौरवपूर्ण उपलब्धि हो ।
वेस्ट इन्डिजविरुद्धको शृंखलामा नेपाली खेलाडीले ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनवटै पक्षमा निखारिएको प्रदर्शन गरेका थिए । खासगरी नेपालको ब्याटिङमा देखिँदै आएको परम्परागत कमजोरी यो शृंखलामा दोहोरिएको थिएन ।
आईसीसीको एसोसिएट सदस्य राष्ट्रले यसअघि कुनै पनि पूर्णकालीन सदस्य राष्ट्रलाई यति ठूलो रनअन्तरले हराउन सकेको थिएन । यसअघि, सन् २०१६ मा अफगानिस्तानले जिम्बाब्वेलाई ८१ रनले हराएको थियो ।
यूएईमा वेस्ट इन्डिजविरुद्धको शृंखला जितेर नेपाली टोली उतैबाट ओमान पुगेको थियो । विश्वकप छनोट शुरू हुनुअघि ओमानमा खेलिएको अभ्यास खेलमा पनि नेपाली खेलाडीले अब्बल प्रदर्शन गर्दै आफ्नो लय कायमै रहेको सन्देश दिए ।
यसैगरी, दोस्रो अभ्यास खेलमा पनि नेपालले कतारलाई १६ रनले हरायो ।
नेपाली टोलीले हालसम्म दुईपटक आईसीसी टी–२० विश्वकप खेलिसकेको छ । नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । उक्त विश्वकप बंगलादेशमा आयोजना भएको थियो । आफ्नो पहिलो सहभागितामै नेपाली टोलीले विश्वकपमा अब्बल प्रदर्शन गरेको थियो ।
त्यतिबेला प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली बंगलादेशसँग नेट रन रेटमा थोरै अन्तरले पछि पर्दै अघिल्लो चरणमा पुग्नबाट बञ्चित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले हङकङलाई ८० रन र अफगानिस्तानलाई नौ रनले हराएको थियो ।
नेपाली टोली आयोजक बंगलादेशसँग भने आठ विकेटले पराजित भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो । नेट रन रेटमै पछि परेका कारण नेपाली टोली अघिल्लो चरणमा पुग्नबाट बञ्चित भएको थियो ।
यसैगरी, नेपाली टोलीले सन् २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली तीन खेलमा पराजित भएको थियो भने एक खेल अनिर्णित रूपमा सकिएको थियो । विश्वकपको यो संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको थियो ।
उक्त विश्वकपको समूह ‘डी’ मा परेको नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग एक रन र बंगलादेशसँग २१ रनले पराजित भएको थियो । नेपाल र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
विश्वकप छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो टोलीको घोषणा गरिसकेको छ । यूएईमा वेस्ट इन्डिजविरुद्धको शृंखला नखेलेका सन्दीप लामिछानेलाई पनि विश्वकप छनोटका लागि घोषित टोलीमा स्थान दिइएको छ ।
नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र लोकेश बम रहेका छन् ।
आईसीसी टी–२० विश्वकपको १० औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहने छ ।
आगामी विश्वकपमा सहभागी हुने १७ टोलीको टुंगो यसअघि नै लागिसकेको छ । बाँकी तीन टोलीको टुंगो एसिया–प्रशान्त क्षेत्रस्तरीय अन्तिम चरणको छनोट प्रतियोगितापछि लाग्नेछ ।
भारत र श्रीलंकाले आयोजकका रूपमा आगामी विश्वकप खेल्नेछन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज भने अघिल्लो विश्वकपको वरीयताका आधारमा आगामी विश्वकपमा छनोट भएका हुन् ।
यसैगरी, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले आईसीसी टी–२० वरीयताका आधारमा आगामी विश्वकपमा स्थान पक्का गरेका हुन् । क्यानडा अमेरिकी क्षेत्रीबाट छनोट चरण पार गर्दै आगामी विश्वकपमा उपस्थित भएको हो ।
यसैगरी, इटाली र नेदरल्यान्ड्स युरोपेली क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । नामिबिया र जिम्बाब्वे भने अफ्रिकी महादेशबाट आगामी विश्वकपमा छनोट भएका हुन् ।
विश्वकप छनोटका लागि घोषित नेपाली टोलीमा रहेका अधिकांश खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताको लामो अनुभव बटुलिसकेका छन् । थुप्रै खेलाडीले त यसअघि नै विश्वकपको अनुभवीसमेत बटुलिसकेका छन् ।
तर, टोलीका अलराउन्डर सोमपाल कामी सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले यसअघि दुईवटा टी–२० विश्वकप खेलिसकेका छन् । नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्दा पनि उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए ।
हाल नेपाली टोलीमा रहेका खेलाडीमध्ये सोमपाल कामीमात्र यस्ता खेलाडी हुन्, जसले सन् २०१४ को विश्वकप खेलेका थिए । त्यसैले यतिबेला सोमपाल देशका लागि तेस्रो विश्वकप खेल्ने सपना साँचेर बसेका छन् ।
उनले सन् २०२४ को विश्वकप पनि खेलेका थिए । त्यसैले नेपाली टोली सन् २०२६ को विश्वकपमा छनोट भए सम्भवतः उनी नेपालका लागि तीनवटा विश्वकप खेल्ने एकमात्र खेलाडी बन्नेछन् र यो कीर्तिमान लामो समय उनको नामसँग जोडिएर रहने छ ।
विश्वकप छनोटका लागि घोषित नेपाली टोलीमा रहेका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, करण केसी र सन्दीप जोराले पनि सन् २०२४ को विश्वकप खेलेका छन् । ललित राजवंशी पनि सन् २०२४ को विश्वकपका लागि घोषित टोलीमा परेका थिए ।