शिक्षा मन्त्री महावीर पुन मन्त्रालयमै बस्ने

khaptadpress.com

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधमन्त्री महावीर पुन मन्त्रालयमै बस्ने भएका छन्। पदभार ग्रहरण गरेपछि सञ्चारकर्मीसँग मन्त्री पुनले आफू मन्त्री क्वार्टरमा नबस्ने बताए । मन्त्रालयमै कोठा मिलाउन उनले निर्देशन दिए ।

‘मन्त्री क्वार्टर चाहिँदैन । यहीँ कोठा बनाउनू । सुत्ने खाट र टेबल भए पुग्छ । आफैं पकाएर खान्छु,’ मन्त्री पुनले भने ।

सुरक्षाकर्मीलाई पनि मन्त्रालयमै बस्न आग्रह गरे । सरकारी कामबाहेक अन्य ठाउँमा जाँदा सरकारी गाडीको प्रयोग नगर्ने उनले घोषणा गरे ।

६ महिनाका लागि मन्त्री भएको बताउँदै उनले आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाए ।

समितिमा बसेर मात्र भएन, आर्थिक स्रोत चाहियो

मन्त्री पुनले समितिहरू बनाएर मात्रै नहुने भन्दै ठोस काम गरेर अघि बढ्नुपर्ने बताएका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्नुअघि यस्तो बताएका हुन् ।

मन्त्रालयका कर्मचारीहरूले उनलाई थिंक ट्यांकहरूको नयाँ समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्न आग्रह गरेका थिए ।

मन्त्रालयका कर्मचारीले भनेका थिए, ‘विज्ञान प्रविधिको क्षेत्रमा रहेका सम्पूर्ण विज्ञहरूको राय सुझावमा आधारित भएर मन्त्रालयले आगामी दिनमा चाल्नुपर्ने नीति कार्यक्रमहरूमा हामीले समिति गठन गर्ने भन्ने विषयमा निर्णय गरेका छौं । अहिले हामीले चारवटा विषयमा तय गरेका छौं ।’

तर, उनले समिति मात्रै बनाएर नहुने भन्दै आर्थिक स्रोत खोजी गरे । सधैं समितिमात्रै बन्ने तर आर्थिक स्रोत सुनिश्चितता नहुने कुरामा उनको आपत्ति थियो ।

‘समिति त बन्छ । बनाउँला । समिति मात्रै बनाएर भएन । पहिलो कुरा आर्थिक स्रोत खोज्नुपर्‍यो । सधैं मन्त्रालयमा अड्किएका कुरा हो,’ शिक्षामन्त्री पुनले भने, ‘पैसा नै छैन भनेर अहिलेसम्म अड्किएको हो । पैसा कहाँबाट ल्याउने भनेर आर्थिक स्रोत त खोज्नुपर्‍यो नि । आर्थिक स्रोत पनि खोजौं ।’

अनि मन्त्री पुनले भने, ‘अहिले नै सदर गनुपर्‍यो ? कि केही सल्लाह गरेर गर्नुपर्‍यो ?’

‘यो टीओआर मात्रै हो, मन्त्रीज्यू । वार्षिक बजेट यहाँ छँदै छ,’ अर्का एक कर्मचारीले भने ।

उनले आफूले मन्त्रालय देखेको धेरै वर्ष भएको तर अहिलेसम्म केही काम नभएकोमा आपत्ति जनाए ।

‘मैले विज्ञान मन्त्रालय देखेको धेरै वर्ष भयो । अहिलेसम्म केही काम गरेको छैन । ६ महिनासम्म के काम होला र ? तर केही त काम होस्,’ मन्त्री पुनले भने।

वार्षिक बजेट हेरौं, छैन भने निकालौं । नाममात्रैको चाहीँ नहोस् । यस्तो समिति धेरै बन्यो । मैले पनि धेरै भोगेँ । समिति बनायो, बस्यो । काम नहुने । त्यतिकै हाजिर गर्ने र दुई चार पटक मिटिङ बस्ने भयो । काम नहुने भयो ।

भिजिटिङ कार्डमा मात्रै लेख्ने कुरा हुन नहुने उनको भनाइ थियो ।

‘एउटा भिजिटिङ कार्डमा मात्रै लेख्ने कुरा भएन । बरु सानै होस्, ठोस काम होस् । पहिला एउटाबाट सुरु गरौं, अनि त्यो काम ठोस होस् भन्ने म चाहन्छु,’ पुनले भनेका छन् ।

प्रतिक्रिया