काठमाडौं। संयुक्तअरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको अन्तिम खेलमा पनि आफ्ना ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरेपछि नेपाली टोलीले आयोजक राष्ट्रलाई जितका लागि दुई सय ४० रनको सामान्य लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३९ रनमात्र बनाउन सक्यो । नेपाली टोलीका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेनन् ।
भीम सार्कीले टोलीका लागि सर्वाधिक ४८ रनको योगदान गरे । उनले ओपनर ब्याट्सम्यान आसिफ शेखसँग ७४ रनको साझेदारी गरे । आसिफ शेख भने ३४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । नेपालको ओपनर जोडी फेरि पनि चल्न सकेन । ओपनर कुशल भुर्तेल दुई रनमै आउट भए ।
कप्तान रोहित पौडेल दुई रनमै आउट भए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले टोलीको खातामा ३० रन थपे । दीपेन्द्रसिंह ऐरी ३७ रन बनाउँदै आउट भए । सातौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले टोलीलाई राहत दिए ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ४६ रन बनाए । यसक्रममा उनले ५१ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । सन्दीप लामिछाने १५ रनमा अविजित रहे । उनले १० बलमा दुई चौका हिर्काए ।
ललित राजवंशीले पनि एक बलमा एक चौकाको मद्दतले चार रन बनाए । आयोजक यूएईका बलर जुनैद सिद्दकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले दुई–दुई विकेट लिए । जाहिद अलीले पनि एक–एक विकेट हात पारे । नेपाली टोलीले अतिरिक्त रुपमा २१ रन पायो ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी दोस्रो ओभरको पाँचौँ बलमै केवल दुई रन बनाउँदै आउट भएका थिए । उनले केवल नौ बलको सामना गरे । यूएईका बलर जाहिद अलीले उनलाई विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराए । पहिलो विकेट गुमाउँदा नेपालले केवल चार रन बनाएको थियो ।
नेपालले दोस्रो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको थियो । ओपनर ब्याट्सम्यान आसिफ शेख दूर्भाग्यपूर्ण तरिकाले रन आउट हुँदै पेभेलियन फर्किएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले आउट हुनुअघि ३४ रन बनाए ।
उनले ४८ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । १८औँ ओभरको चौथो बलमा आसिफ शेख आउट हुँदा नेपालले ७८ रन बनाएको थियो । पहिलो विकेटका रुपमा कुशल भुर्तेल आउट भएपछि आसिफ शेख र भीम सार्कीले ७४ रनको साझेदारी गरेका थिए ।
नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित कुमार पौडेललाई गुमाएको थियो । उनी सात बलमा केवल दुई रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनी ध्रुव परासरको बलमा कप्तान एलिसन सराफुद्वारा समातिएका थिए ।
२१औँ ओभरको अन्तिम बलमा कप्तान रोहित आउट हुँदा नेपालले केवल ८७ रन बनाएको थियो । दुई रन बनाएसँगै २३ वर्षीय रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रनको कोशेढुङ्गा भने पूरा गरे । रोहितले ७६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै यस्तो उपलब्धि हासिल गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने उनी पहिलो नेपाली ब्याट्सम्यान हुन् ।
नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी केवल दुई रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीमले भेलियन फर्किनुअघि ६८ बलमा सात चौकाको मद्दतले ४८ रन बनाए । उनलाई ध्रुव परासरले कप्तान एलिसन सराफुद्वारा नै क्याच गराएका थिए । २३औँ ओभरको दोस्रो बलमा उनी आउट हुँदा नेपालले ९४ रन बनाएको थियो ।
नेपालले पाँचौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनी ३७ रन बनाउँदै आउट भए । रन आउट भई मैदानबाट बाहिरिनुअघि उनले ४३ बलमा एक छक्का र तीन चौका हिर्काए ।
३३औँ ओभरको पाँचौँ बलमा उपकप्तान दीपेन्द्र आउट हुँदा नेपालले एक सय ४३ रन बनाएको थियो । यूएईविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानहरुबीच गतिलो तालमेल देखिएको छैन । यसअघि, ओपनर आसिफ शेख पनि रन आउट नै भएका थिए । दीपेन्द्र रनआउट हुनुअघि पनि आरिफ शेख र उनीबीच गतिलो तालमेल देखिएको थिएन ।
नेपालले छैटौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेख ३० रन बनाउँदै आउट भए । उनले ५४ बलको सामना गरी दुई चौका हिर्काए । आरिफ शेखलाई जुनैद सिद्दकीले विकेटकिपर शर्माद्वारा क्याच गराए । ४२.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८७ रन बनाएको थियो ।
नेपालले सातौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । आरिफ आउट भएलगत्तै करण केसी पनि पेभेलियन फर्किएका थिए । उनी आरिफकै ठाउँमा क्रिज समाल्न आएका थिए । उनी पहिलो बलमै पेभेलियन फर्किए । उनलाई पनि जुनैद सिद्दकीले विकेटकिपर शर्माद्वारा क्याच गराए ।
नेपालले आठौँ विकेटका रुपमा नन्दन यादवलाई गुमाएको थियो । उनी नौ बलमा केवल एक रन बनाउँदै आउट भए । उनलाई मुहम्मद जवादुल्लाहले बोल्ड गरे । ४६औँ ओभरको पाँचौँ बलमा उनी आउट हुँदा नेपालले एक सय ९३ रन बनाएको थियो ।
नेपालले नवौँ विकेटका रुपमा कुशल मल्ललाई गुमायो । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनी ४६ रन बनाउँदै आउट भए । उनले ५१ बलमा तीन छक्का र एक चौका पनि हिर्काए । उनलाई जवादुल्लाहले बोल्ड गरे । अन्तिम ओभरको पाँचौँ बलमा उनी आउट हुँदा नेपालले दुई सय ३५ रन बनाएको थियो ।