कांग्रेसले नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, सभापति थापा सहभागी हुने

khaptadpress.com

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा हार व्यहोरेको नेपाली कांग्रेसलाई रिभाइभ गर्ने उद्देश्यले सभापति गगन थापा नेतृत्वमा राष्ट्रिय स्तरमा व्यापक संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले केन्द्रीय समितिको निर्णयअनुसार नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम अघि बढाइने बताए।

उनले भने, ‘कांग्रेसले हालैको निर्वाचनमा भोगेको हारको समीक्षा गर्न तथा पार्टीलाई पुनः सशक्त बनाउने उपाय खोज्न देशव्यापी संवाद अभियान सञ्चालन गर्दै छौँ। हामीले नागरिक अन्तरक्रिया कार्यक्रम गर्ने भनेर केन्द्रीय समितिले नै निर्णय गरेको छ। त्यसैले राष्ट्रिय स्तरमा बुद्धिजीवी, पेसाकर्मी, नागरिक अगुवा र विभिन्न क्षेत्रका प्रतिनिधिसँग सभापतिको नेतृत्वमा अन्तरक्रिया र समीक्षा गर्ने योजना बनाएका छौँ।’

कार्यक्रममार्फत कांग्रेस चुनावमा पराजित भएको विषयमा गहिरो समीक्षा गरिने बताए। संवादपछि आगामी दिनमा पार्टीलाई पुनर्जीवित गर्न आवश्यक रणनीति पनि तय गरिने सुनाए। जिल्ला तहसम्म पनि अभियानलाई विस्तार गरिने उनको भनाइ छ।

उनले थपे, ‘जिल्ला स्तरमा रहेका बुद्धिजीवी, युवाहरू, पेसाकर्मी तथा समाजका विभिन्न वर्गसँग कांग्रेसका प्रतिनिधिहरूले प्रत्यक्ष अन्तरक्रिया गर्नेछन्। यस क्रममा नागरिकसँग निर्वाचन समीक्षा गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। कांग्रेसलाई सामाजिक गतिविधिसँग जोड्दै सङ्गठनलाई सक्रिय बनाउने योजनासमेत अघि सारेका छौँ।’

स्थानीय तहको आवश्यकता अनुसार विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरी पार्टीलाई जनतासँग नजिक बनाउने लक्ष्य राखिएको समेत बताए। पार्टीका प्रतिनिधिहरूलाई सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी भई सङ्गठन सुदृढीकरणमा जुट्न जिम्मेवारीसमेत दिइएको बताए।

प्रतिक्रिया