काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीले कति पारिश्रमिक पाउँछन् भन्ने विषय त सामान्य नै हो । प्रत्येक वर्ष हुने अक्सनमै नेपाली खेलाडीको पारिश्रमिक सार्वजनिक हुन्छ ।
यद्यपि, शिखर धवनले कर्णाली याक्सबाट ४ खेल खेल्न डेढ करोडभन्दा बढी पारिश्रमिक लिएको विषय अघिल्लो सिजन चर्चामा थियो । त्यससम्बन्धी आधिकारिक डकुमेन्ट भने केही सार्वजनिक भएको थिएन ।
नेपाल क्रिकेट संघ (क्यान) र प्रतियोगितामा सहभागी क्लबहरूले विदेशी खेलाडीलाई दिइने पारिश्रमिक सार्वजनिक गर्ने गरेका छैनन् ।
तर, एनपीएल खेल्न आउने विदेशी खेलाडीहरूले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने हुन्छ । श्रम स्वीकृति लिँदा विदेशी खेलाडीको विषयमा सम्पूर्ण विवरण आधिकारिक निकायमा बुझाउनु पर्छ ।
यसरी बुझाइएको विवरणमा विदेशी खेलाडीलाई दिइने पारिश्रमिक पनि उल्लेख गरिएको हुन्छ । एनपीएलको दोस्रो संस्करणमा पनि विश्व क्रिकेटका चर्चित खेलाडीहरूको उपस्थिति छ ।
न्युजिल्यान्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिलदेखि दक्षिण अफ्रिकाका क्याप्टेन समेत रहिसकेका फाफ डु प्लेसिससम्मले एनपीएलको दोस्रो संस्करण खेलिरहेका छन् ।
केही चर्चित विदेशी खेलाडीले प्रारम्भदेखि नै एनपीएल खेलिरहेका छन् भने कतिपय विदेशी खेलाडी प्रतियोगिताको उत्तरार्धमा मात्र सम्बन्धित क्लबसँग जोडिएका हुन् ।
केही विदेशी खेलाडी भने बीचमै एनपीएल छाडेर अर्को विदेशी फ्रेन्चाइज लिग खेल्न हिँडिसकेका छन् । त्यसैले विदेशी खेलाडीको पारिश्रमिकमा पनि एकरूपता पाइँदैन ।
आखिर विश्व क्रिकेटका यी हस्ती खेलाडीहरूले एनपीएल खेलेबापत कति पारिश्रमिक पाउँछन् त ? क्लबहरूले सम्बन्धित सरकारी निकायमा बुझाएको श्रम सम्झौतामा खेलाडीको पारिश्रमिक पनि उल्लेख गरिएको छ ।
आधिकारिक सम्झौतामा उल्लेख भएअनुसार, विराटनगर किङ्सले दोस्रो संस्करणको एनपीएलका लागि मार्टिन गप्टिलसँग ४० हजार अमेरिकी डलर (करिब ५७ लाख ६६ हजार)मा सम्झौता गरेको छ ।
विराटनगर किङ्सबाटै एनपीएल खेलेका दक्षिण अफ्रिकाका अर्का प्रभावशाली खेलाडी फाफ डु प्लेसिसले २८ हजार अमेरिकी डलर (करिब ४० लाख ३६ हजार)मा सम्झौता गरेका छन् । उनी जारी एनपीएलको उत्तरार्धतिर मात्र विराटनगर किङ्ससँग जोडिएका हुन् ।
विराटनगर किङ्सकै अर्का विदेशी खेलाडी साम हिजलेटसँग १७ हजार अमेरिकी डलर (करिब २४ लाख ५० हजार)मा सम्झौता गरिएको छ । दक्षिण अफ्रिकी खेलाडी मर्चेन्ट डे लाङ्गेसँग विराटनगरले १८ हजार अमेरिकी डलर (करिब २५ लाख ९४ हजार)मा सम्झौता गरेको छ ।
विराटनगरले नै अमेरिकी खेलाडी शुभम रञ्जनेसँग १२ हजार अमेरिकी डलर (करिब १७ लाख २९ हजार)मा सम्झौता गरेको छ ।
यसरी सम्झौता गरिएका अधिकांश खेलाडीले पहिलो किस्तामा २५ प्रतिशत, दोस्रो किस्तामा २५ प्रतिशत र तेस्रो किस्तामा ५० प्रतिशत पारिश्रमिक पाउने सम्झौतापत्रमा उल्लेख छ ।
यसैगरी, सुदूरपश्चिम रोयल्सले स्कट कुग्गेलेइजनसँग ६ हजार डलर (८ लाख ६४ हजार), क्रिस लिनसँग ६ हजार डलर (८ लाख ६४ हजार), हरमित सिंहसँग ४ हजार डलर (५ लाख ७६ हजार) र जोस ब्राउनसँग ६ हजार डलर (८ लाख ६४ हजार) अमेरिकी डलरमा सम्झौता गरेको देखिन्छ ।
सुदूरपश्चिमले आफ्ना खेलाडीलाई पहिलो किस्तामा २५ प्रतिशत, दोस्रो किस्तामा ५० प्रतिशत र तेस्रो किस्तामा २५ प्रतिशत रकम उपलब्ध गराउने श्रम सम्झौता गरेको छ । सुदूरपश्चिम एनपीएलको दोस्रो संस्करणमा फाइनलमा पुगिसकेको छ ।
यसैगरी, फाइनलमा पुगेको लुम्बिनी लायन्सले गुलबदिन नाइबसँग २५ हजार अमेरिकी डलर (करिब ३६ लाख)मा सम्झौता गरेको छ । लुम्बिनीले नै थोमस ड्राकासँग २० हजार अमेरिकी डलर (२८ लाख ८३ हजार)मा सम्झौता गरेको छ ।
लुम्बिनीले नै रुवेन ट्रम्पलम्यानलाई नौ हजार तीन सय ३४ डलर (करिब १३ लाख ४५ हजार), डी’आर्ची सर्टलाई ३५ हजार २९५ डलर (करिब ५० लाख ८७ हजार) र जोहानेश जोनाथन स्मितलाई १३ हजार तीन सय ३४ डलर (करिब १९ लाख २२ हजार)मा भित्र्याएको आधिकारिक सम्झौता पत्रमा उल्लेख छ ।
यसैगरी, चितवन राइनोजले डेभिड मलानसँग ३५ हजार डलर (करिब ५० लाख ४५ हजार) र रवि बोपरासँग ३२ हजार पाँच सय डलर (करिब ४६ लाख ८४ हजार) मा श्रम सम्झौता गरेको छ ।
चितवन राइनोजले नै सेफ जेबसँग १९ हजार डलर (करिब २७ लाख ३८ हजार), सोहेल तनवीरसँग १२ हजार पाँच सय (करिब १८ लाख) र अल्पेश रामजानीसँग पाँच हजार अमेरिकी डलर (करिब ७ लाख २० हजार)मा सम्झौता गरेको आधिकारिक कागजातमा उल्लेख छ ।
यसका अतिरिक्त, चितवन राइनोजले आधिकारिक निकायमा बुझाएको कागजातमा ध्रुव प्रसाद र सिद्धार्थ पाटिलसँग पनि श्रम सम्झौता गरेको देखिन्छ ।
यो रकम विदेशी खेलाडीले पाउने विशुद्ध पारिश्रमिक हो । यसका अतिरिक्त, खेलाडीको आवास, खानपिन, यातायात, उपचार, बिमाजस्ता शीर्षकमा हुने खर्च सम्बन्धित क्लबले नै व्यहोर्दै आएका छन् । लोकान्तरबाट