चौरपाटीको विकट सिरफाली टोलमा सडक पुग्यो, गाउँपालिका केन्द्रबाट यसै वर्ष जोडिने

khaptadpress.com

अछाम। चौरपाटी गाउँपालिका वडा नं १ को निकै विकट क्षेत्र सिरफाली सडक सञ्जालले जोडिएको छ। निर्माणाधीन सेती राजमार्गबाट सिरफालीमा रहेको सरस्वती आधारभुत विधालयसम्म सडक पुगेको हो।

चौरपाटी गाउँपालिकाको समन्वयमा सेती राजमार्ग कार्यालयले करिव दुई किलोमिटर खनेर विद्यालयसम्म पुर्याएको छ। गाउँपालिकाको केन्द्र चौरपाटीबाट अझैँ  सो विद्यालयसम्म सडक पुग्न करिव किलोमिटर बाँकी रहेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिए। 

भौगोलिक विकटता तथा कडा चट्टानका कारण सडक खन्न निकै मुस्किल परेको उनले बताए। 'चौरपाटीबाट निकै तलसम्म सडक पुगिसकेको छ तर चार पाँच किलोमिटर खन्न अझैँ बाँकी छ' अध्यक्ष साउँदले भने,'यसै वर्षभित्र माथिबाट पनि विद्यालयसम्म सडक खनेर जोड्ने योजना छ।

साउँदका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकाबाट उक्त सडकका लागि २५ लाख वजेट विनियोजन भएको। त्यति मात्रै बजेटले नपुग्ने र अपुग रकम गाउँपालिकाले खर्च गरेर भए पनि सडक जोड्ने उनले जानकारी दिए। सिरफाली गाउँमा ६०-७० परिवारको बसोबास छ।

प्रतिक्रिया