कोजाग्रत पूर्णिमासँगै आजबाट दशैं सकिंदै, तिमिल्सेनमा दशैं मेला

khaptadpress.com

अछाम। महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । 

असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो वडादशैँ पर्व समापन हुन्छ ।

विजयादशमीदेखि शुरू भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाइन्छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यो पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्र्नेे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना भने भोलि मङ्गलवारदेखि शुरु हुँदैछ । आकाशदीपदान पनि भोलि साँझदेखि नै शुरू हुनेछ ।

यस्तै कोजाग्रत पूर्णिमाको दिन आज जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४, तिमिल्सैनमा भव्य दशैँमेला लाग्ने भएको छ । शदिऔँदेखि तिमिल्सैनमा कोजाग्रत पूर्णिमाको दिन राँगा बोकाको बलिसहित दशैँमेला लाग्ने गर्दछ । मेलामा ऐतिहासिक सांस्कृतिक देउडा नाच, न्याउलेलगायत खेलमालका कार्यक्रम हुने गर्दछन् भने स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ । 

भक्तजनले पूजापाठसँगै आफूले भाकल गरेका राँगा बोकाको बलिसमेत चढाउने गर्दछन् । तिमिल्सैनको दशैँमेलामा राँगा बोका बलि दिएर पूजाआराधना गरेमा मनोकामना पूरा हुने धार्मिक आस्थाअनुसार परापूर्व कालदेखिनै त्यहाँ बलि दिइने गरिन्छ । 

तिमिल्सैनको दशैँमा विगत २०६७ सालदेखि बलि नचढाउने निर्णय गरिसकिएको भएता पनि बलिप्रथा अझै हट्न सकेको छैन । तिमिल्सैनका स्थानीयले सो निर्णयपछि बलि नचढाए पनि अन्य ठाउँबाट भाकल गरेकाले बलि चढाइरहेको पाइएको छ । केही व्यक्तिले धेरै समय अघिनै भाकल गरेकाले आआफ्नै तरिकाले बलि चढाउने गरेको बताइएको छ । 

दशैँ मेलाको अवसरमा वरदादेवीको पूजापाठका साथै रातभरि देउडा, न्याउलेलगायत स्थानीय लोकसंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् । 

अछाममा मनाइने ठूला दशैँमेलामध्येको तिमिल्सैनको दशैँ सकिएको ठीक एक महिनापछि बान्नीगढी जयगढ गाउँपालिकाकै वडा नम्बर १ गाजरामा पनि भव्य दशैँमेला लाग्ने गर्दछ । 

प्रतिक्रिया