अछाम। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गृहमन्त्री सुधन गुरुङले कार्यकालको एक महिना पनि पूरा नगरी बुधबार राजीनामा दिएका छन् ।
शंकास्पद व्यापारीसँगको रहस्यमय आम्दानीबाट शेयर लगानी गरेकोमा प्रश्न आएसँगै गुरुङ राजीनामा दिन बाध्य भएका हुन् ।
सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीले श्रममन्त्री दीपककुमार साहलाई स्पष्टीकरण नै नसोधी राजीनामा गराएको थियो । तर, सुधनलाई भने स्पष्टीकरणको सुविधा दिइएको थियो । स्पष्टीकरण दिएको केही दिनमै गुरुङले राजीनामा दिएका हुन् । तर, गुरुङले साहभन्दा अर्को सुविधा पनि पाएका छन् । उनको छानबिन गर्ने भनिएको छ ।
सरकारले बनाएको छानबिनले गुरुङलाई दोषी नदेखाए पुनः गृह मन्त्रालयमा ल्याउने सम्भावना पनि रहन्छ । त्यसरी ल्याइएका यसअगाडिका मन्त्री जनार्दन शर्मा थिए । उनलाई बजेट निर्माणको काण्डमा राजीनामा गराएर पछि छानबिनको नाममा चोखो देखाएर फेरि मन्त्रालयमा ल्याइएको थियो ।
रास्वपाका गृहमन्त्रीले छोटो समयमै राजीनामा दिएको यो नै पहिलो घटना भने होइन । १३ माघ २०७९ मा तत्कालीन रास्वपाका सभापति तथा प्रचण्ड सरकारका गृहमन्त्री रवि लामिछानेले राजीनामा दिन बाध्य भएका थिए ।
११ पुसमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका रविले ३२ दिनमा सर्वोच्च अदालतले सांसद हुन अयोग्य फैसला गरेपछि उनले राजीनामा दिएका थिए । नेपाली र अमेरिकी दुवै पासपोर्ट एकैपटक प्रयोग गरको मुद्दामा उनी सांसद बन्न अयोग्य ठहरिएका थिए ।